तत्काल मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग गर्ने एकीकृत समाजवादीको निर्णय

तत्काल मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग गर्ने एकीकृत समाजवादीको निर्णय


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना चारजना मन्त्री फेर्ने निर्णय छिटो कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ।

बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘आज सचिवालयको बैठक बसेको थियो तुरुन्तै पोलिटब्यूरोको बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल गर्‍यौँ,’ उनले भने, ‘यसबाहेक मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर निर्णय गरेका छौं । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन रु तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय भएको छ ।’

एकीकृत समाजवादी पार्टीले हाल सरकारमा रहेका मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो । त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो ।