काठमाडौं । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाख मत भएको दाबी गरेका छन् । तर त्यो मत गठबन्धनमा अपमान हुँदा प्राप्त गर्न नसकेको आरोप लगाए ।
नेकपा एसद्वारा जननिर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले त्यत्रो मत हुँदाहुँदै पनि पार्टी धेरै ठाउँमा जित्न नसकेको बताए । त्यसको समिक्षा गरिरहेको उनले बताए। “हामीले धेरै ठाउँमा जित्न सकेनौँ । जित्न नसक्नुमा धेरै कारण छन् । हामी समीक्षा गरिरहेका छौँ । हामीले खुल्ला मनस्थिति लिएर राष्ट्रव्यापी रूपमा हाम्रा उमेदवार उठाउन सकेको भए अहिले हामीले नौ लाख छ भन्छौँ नि,” खनालले भने, “हामीसँग २० लाखभन्दा बढी मत छ । त्यो मत संकलन गर्न सकेनौँ ।”
उनले सत्ता गठबन्धनभित्र पार्टीलाई अपमान गरिएको भन्दै पाउनुपर्ने सिट गुमाएको जिकिर गरे । “गठबन्धनले बिलकुलै अपमान गर्यो । जति मत पाउनपर्थ्यो, त्यति मत पनि प्राप्त गर्न सकेनौँ । त्यति सिट पनि प्राप्त गर्न सकेनौँ,” उनले भने ।
खनालले जनप्रनिधिहरूलाई आफ्नो कार्यकालमा धेरै उपलब्धि हासिल गर्न शुभकामना दिए । जनताका घरघरमा गएर के समस्याहरू छन् भन्ने अध्ययन गरेर जनतासँगको सम्बन्धलाई अघि बढाउन आग्रह गरे।


प्रतिक्रिया