एनआरएनएमा बिल कसले तिर्ने लफडा

एनआरएनएमा बिल कसले तिर्ने लफडा


ग्लोब नेपाल
621
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत साता आयोजना गरेको एउटा कार्यक्रमको खर्च कसले व्यहोर्ने भन्ने विषयमा नयाँ लफडा सुरु भएको छ । रेडिसन होटलमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रमको खर्च आर्थिक नियमावली विपरित भएको भनेपछि विवाद सुरु भएको हो । कार्यक्रममा २० लाख रुपैयाँ खर्च भएको संघले जनाएको छ ।

संघका कोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार हिजाे आइतवार बसेको पदाधिकारी बैठकले सो खर्च संस्थाको खाताबाट नतिर्ने निर्णय भएको छ । संस्थाको आर्थिक प्रशासन नियमावली विपरित भएको खर्च अन्य प्रायोजक र कार्यसमितिका पदाधिकारीहरुले व्यहोर्ने निर्णय भएको दाहालले जानकारी दिए ।

यस्तै संघका अर्का कोषाध्यक्ष सुनिल शाहले संघको विधान र गैरआवासीय नेपाली संघ आर्थिक प्रशासन नियमावली विपरित एक पैसा पनि खर्च हुन नदिने प्रतिबद्धता व्यक्त गरे । यसअघि संघका उपाध्यक्ष रोशन थापाले एक पत्र लेख्दै गैरआवासीय नेपाली संघ आर्थिक प्रशासन नियमावली मिचिएको भन्दै संस्थाको ध्यानाकर्षण गराएका थिए ।

गैरआवासीय नेपाली संघ आर्थिक प्रशासन नियमावलीमा २०७७ – २०७८ संशोधनसहितको परिच्छेद ५ को दफा ५ अनुसार १० लाखसम्म कोषाध्यक्षको सिफारिसमा अध्यक्षले र १० लाख भन्दामाथि अध्यक्षको सिफारिसमा अन्तराष्ट्रिय कार्यकारी सचिवालयले खर्च गर्न पाउने अधिकार रहेको उल्लेख छ । तर संस्थागत निर्णय विना सो सेमिनारको आयोजना गरिएपछि आर्थिक पारदर्शिताको विषयमा संस्थाभित्र प्रश्न उठेका थिए ।

बैठकमा सचिव प्रमोद सिटौला, शकंर खड्का लगायतले सो एक दिने सेमिनारमा भएको खर्च संस्थाले तिर्न नहुने भन्दै बैठकमा अडान लिएका थिए ।