सभापति देउवाले विधानसम्मत पार्टी चलाउन नसकेको कोइराला समूहको निष्कर्ष

सभापति देउवाले विधानसम्मत पार्टी चलाउन नसकेको कोइराला समूहको निष्कर्ष


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको आरोप लगाएको छ ।

काठमाडौंको बत्तीसपुतलीमा बिहीबार बसेको कोइराला पक्षको बैठकमा बोल्ने अधिकांश नेताहरूले १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको बताए । बैठकले पार्टीभित्र सभापति देउवाले एकलौटी गरेको भन्दै विद्रोहको चेतावनी दिएको हो । बैठकमा सहभागी नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन्।

बैठकपछि बोल्दै कांग्रेस नेता चन्द्र भण्डारीले भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा समेत उठेको बताए । उनले कस्तो खालको विद्रोहको गर्ने र आगामी कदम के हुने भन्ने बारेमा शुक्रबारको बैठकले टुंगो लगाउने बताए । ‘बिहीबारको निष्कर्षमा कन्स्ट्रक्टिभ विद्रोहको कुरा भएको छ। यति शब्द सम्झनुस्। दोस्रो, ‘पोलिटिकल’ सोचाइमा पनि परिवर्तन भएको छ,’ उनले भने, ‘त्यसको आधारमा हाम्रो विचारधारालाई कसरी अघि लाने भन्नेबारे सबैभन्दा मुख्य कुरा भएको छ।’

नेता भण्डारीले पार्टी सभापति देउवाले आफ्नै विगत सम्झिएर काम गर्नु उपयुक्त हुने बताए । ‘पार्टीको महाधिवेशन भएको ६ महिना बित्यो, विधानअनुसार हुनुपर्ने काम भएको अवस्था छैन,’ उनले भने, ‘सभापतिजीले गुटको प्रतिनिधित्व नगरेर सिंगो पार्टीको प्रतिनिधित्व गर्नुहोस् भन्ने हाम्रो आग्रह हो । तर, त्यस्तो हुन सकेको छैन । म त उहाँलाई हिजो सुशील कोइरालाले नेविसंघमा आफ्नो व्यक्ति राख्यो भनेर ९ महिनासम्म केन्द्रीय समिति बस्न नदिएको समयको स्मरण गर्न आग्रह गर्दछु ।’

बैठकमा नेता कोइरालासहित पार्टीको केन्द्रीय समितिका कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी थिए । नेता भण्डारीका अनुसार शुक्रबार दिउँसो २ बजे पुनः बस्ने गरी बिहीबारको बैठक स्थगित भएको छ ।