बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री टुंगो लगाउन गठबन्धनकाे बैठक बस्दै

बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री टुंगो लगाउन गठबन्धनकाे बैठक बस्दै


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार (आज) बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुनेछ । 

निर्वाचनको मिति घोषणा पूर्व नै बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ । बागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् भने सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । 

उनीहरूलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बस्न लागेको हो । बागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् । शुक्रबार बस्ने बैठकको समय भने तय भइसकेको छैन । ‘गठबन्धनको बैठक समय निर्धारण भइसकेको छैन,’ प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले भने । 

सो बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएकालाई फिर्ता बोलाएर नयाँ पठाउने व्यक्तिको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।  यसअघि शुक्रबार जसपा अध्यक्ष यादव, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालीबीच भेटवार्ता भएको थियो ।