ओली कमरेड, असार १७ सकियो त !

ओली कमरेड, असार १७ सकियो त !



राजनेता बन्ने असाधारण अवसर गुमाएर बालकोटको बार्दलीमा सिमित हुन पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव अघि एउटा टेलिभिजन अन्तर्वार्तामा भनेका थिए ‘असार १७ गते टिपेर राख्नुस्’ नेपालको राजनीतिमा उथलपुथल हुन्छ । पाँच दलिय गठबन्धन १७ असारपछि भताभुङ्ग हुने उनको अनुमान थियो ।

लगत्तै गठबन्धन दलहरूलाई लक्षित गर्दै ओलीले एमाले विराटनगर महानगर कमिटीले आयोजना गरेको चुनावी सभामा भनेका थिए, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ । त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नुस्, असार १७ गते कस्ता नक्षत्र र ग्रहहरु छन् । ज्योतिषीलाई बोलाएर हेर्नुहोस् भनेको छु, बिचराहरुको सातो गएको छ होला ।’

वास्तवमा केपी ओली न प्रचार गरिएजस्ता राष्ट्रवादी थिए न त राजनेता नै । समग्रमा ओली गफाडी हुन् । जसले केहि समय त सबैलाइ झुक्याउन सके तर अब भ्रमको पर्दा विस्तारै उघ्रिदै छ । वास्तवमा अब ओलीको बाेलीमा कुनै ओजन बाँकी छैन । समग्रमा ओली इमान जमान भएका नेता अब रहेनन् । असार सत्रको सन्दर्भमा पनि आम मानिसले ओलीलाई व्यङ्गय गर्दै भन्न थालेका छन्- ओली कमरेड, असार १७ सकियो त !

स्थानीय चुनावको सन्दर्भमा ओलीको दाबी थियो ‘एमाले एक्लै लड्छ र गठबन्धनका पाचै भाइलाई वैशाख ३० गतेपछि एउटै बट्टामा प्याक गर्छ ।’ तर समय आफ्नै गतिमा अघि बढिरहेकै छ । समयक्रमसँगै ओलीका अभिब्यक्ति हाँस्यास्पद र गफाडीका गफमा परिणत भएका छन् । स्थानीय चुनावको परिणाम र असार १७ गतेका दुबै बिषयमा ओलीको भविष्यवाणी हावा सावित भयाे । आजका मितिसम्म गठबन्धनमा कुनै गडबडी उत्पन्न भएको छैन । बरु थप कसिलो बन्दै गएको छ । बरु एमालेभित्रै ओलीको आलोचना तिव्र हुन थालेको छ । पटक पटकको संसद विघटन गल्ति थियो । सत्ता छोडेर भएपनि नेकपाको एकता जोगाउन ओली लचक भएको भए परिस्थिति यस्तो हुने थिएन । ओली अहंकारले पार्टीलाई उभो लगाउदैन भन्ने आवाजहरु एमालेभित्रै घनिभूतरुपमा सुनिन थालेका छन् ।

राष्ट्रवादका चर्का कुरा गरेर आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एसपीपीलाई चुनावी मसला बनाउने र सत्ता गठबन्धन भत्काउने हतियारका रुपमा प्रयोग गर्ने ओलीको अर्को रणनीति पनि फेल खायो । संसदमा एमालेका नेताहरुले एसपीपी सम्झौंता गर्न लाग्यो भनेर प्रधानमन्त्री देउवा विरुद्ध स्याल हुइँया समेत मच्चाए । तर नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री रहेकै बेलामा नेपालले पहिलो पटक प्रस्ताव पठाएको र ओलीकै पालामा कार्यक्रम स्वीकृत भएको पुष्टि भएपछि यो मुद्धा पनि एमालेका लागि आफ्नै खुट्टामा बन्चरो भनेझै भएको छ । आफ्नो गल्ति ढाकछोप गर्न कहिले नेपाली सेना त कहिले अमेरिकातिर चोरऔला तेरस्याउने ओलीको चलाखी र गैरजिम्मेवारी कसैले पत्याएका छैनन् । सरकारले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय सहितको पत्र पठाएपछि यो प्रकरणमा पनि सबै तथ्यको निरुपण भइसकेको छ ।

वास्तवमा देशभित्र स्थापित गर्न खोजिएको ओलीको राष्ट्रवादी चरित्र, एमालेभित्र हुर्काउन खोजिएको ‘ओली बा ’ को संस्कृति तथा ओलीलाई राजनेताका रुपमा प्रचार गर्ने सबै प्रयासहरु एकपछि अर्को गरि चकनाचुर भएका छन् ।

वास्तवमा केपी ओली न प्रचार गरिएजस्ता राष्ट्रवादी थिए न त राजनेता नै । समग्रमा ओली गफाडी हुन् । जसले केहि समय त सबैलाइ झुक्याउन सके तर अब भ्रमको पर्दा विस्तारै उघ्रिदै छ । वास्तवमा अब ओलीको बाेलीमा कुनै ओजन बाँकी छैन । समग्रमा ओली इमान जमान भएका नेता अब रहेनन् । असार सत्रको सन्दर्भमा पनि आम मानिसले ओलीलाई व्यङ्गय गर्दै भन्न थालेका छन्- ओली कमरेड, असार १७ सकियो त !