सरकारलाई आयल निगमको पत्रः तत्काल नसोचे इन्धन आपूर्ति रोकिन सक्छ

सरकारलाई आयल निगमको पत्रः तत्काल नसोचे इन्धन आपूर्ति रोकिन सक्छ


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेपाल आयल निगमले घाटा चुलिएर अब थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई पत्राचार गरी ध्यानकर्षण गराएको छ ।

घाटा थेग्नै नसक्ने भएपछि सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमले इन्धन आपूर्ति नै प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्री तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानाकर्षण गराएको हो । निगमले आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।

निगमको वित्तीय अवस्था साह्रै बिग्रिएपछि प्रधानमन्त्री र वाणिज्य मन्त्रीलाई यसबारे ध्यानाकर्षण गराएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘सरकारले तत्काल नसोचे अवस्था भयावह हुनेवाला छ,’ थानीले भने ‘सरकारलाई भनेका छौं अब जनताले पनि समस्या बुझिदिनुपर्छ ।’

निगमका कार्यकारी थानीले लेखेको पत्रमा भनिएको छ ‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ ।’

पत्रमा इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि उल्लेख गरिएको छ । निगमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको उल्लेख गरेको छ ।