एउटै पार्टीमा त समस्या हुन्छ, गठबन्धनको समस्यालाई सामान्य रुपमा लिनुपर्छ: प्रधानमन्त्री

एउटै पार्टीमा त समस्या हुन्छ, गठबन्धनको समस्यालाई सामान्य रुपमा लिनुपर्छ: प्रधानमन्त्री


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा देखिएका समस्यालाई सामान्य रुपमा लिन आग्रह गरेका छन् ।

मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले एउटै पार्टीमा समेत समस्याहरू हुने भन्दै धेरै वटा दलहरू मिलेर बनेको गठबन्धनमा समस्याहरू आउनु स्वभाविक रहेको बताए । प्रधानमन्त्री देउवाअघि कार्यक्रमलाई सम्बोधन गरेका उपसभापति धनराज गुरुङले सत्ता गठबन्धनमा समस्या देखिन थालेको भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले कोइरालाले विगतमा गरेको योगदानसमेतको चर्चा गर्दै गठबन्धनमा समस्या हुनु सामान्य भएको बताएका हुन् ।

‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा त झन् धेरै समस्या हुन्छन् । त्यो सामान्य कुरा हो,’ प्रधानमन्त्री देउवाले भने, ‘आफ्नै पार्टी मिलाउन त चुनौती हुन्छ भने अरु पार्टीलाई मिलाउन सहज छैन ।’

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालाले छोडेको राजनीतिक संस्कार अहिले पनि उत्तिकै व्यवहारिक रहेको बताए ।