संसदीय छानबिन समिति बनाएर अर्थमन्त्रीबारे यथार्थ सार्वजनिक गरौं: उपसभापति खड्का

संसदीय छानबिन समिति बनाएर अर्थमन्त्रीबारे यथार्थ सार्वजनिक गरौं: उपसभापति खड्का


ग्लोब नेपाल
27
Shares

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका बेलाका विषय छानबिन गरी तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।

बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय समिति बनाउन उपसभापति खड्काले माग गरेका हुन् । उनले आजै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्। ‘बजेट निर्माणका बेलाका विषयसमेतलाई जोडेर अर्थ मन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसमा गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठिक हुन्छ,’ खड्काले भने।

यस्ता विषय उठ्दा विगतमा पनि संसदीय छानबिन गर्ने परम्परा रहेको खड्काले बताए। ‘बरू ढिला नगरौं, संसदबाट आजै संसदीय छानबिन समिति निर्माणको टुंगो लगाऔं,’ उनले भने।

अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिहरू प्रवेश गराई बजेटमा करका दर हेरफेर गरेको आरोप छ।

यसअघि कांग्रेसकै महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रीलाई प्रधानमन्त्रीले राजीनामा गराएर छानबिन गर्नु पर्ने बताएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अर्थमन्त्रीबारे संसदीय छानबिन समिति गठन गरेर छानबिन गरिनुपर्ने माग गर्दै आएको छ।