६० महिला सेफुक्सुण्डोको पदयात्रामा

६० महिला सेफुक्सुण्डोको पदयात्रामा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन् । आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दूर्गम भेगको पदयात्रा हुने भएको हो ।

साथसाथै फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा अक्टोबरमा हुने पदयात्राको घोषणा गरेको हो । फाउण्डेशनले गत मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई विश्वस्तरमा पु-याउन र जलवायु परिवर्तनको असरबारे सन्देश दिन यो पदयात्रा प्रभावकारी हुने विश्वास राखे । मन्त्री श्रेष्ठले विभिन्न क्षेत्रका महिला सहभागी हुने यो कार्यक्रममा नेपाल सरकारले समेत प्राथमिकता दिने भन्दै प्रशंसा गरे ।

कार्यक्रमका विशेष अतिथि एवं सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले पदयात्रा र हिमाल आरोहण नै नेपालको पर्यटनको मुख्य आधार भएकाले यसलाई बचाउन सरकार र जनस्तरबाट पहल हुनुपर्ने सुझाव राखे ।

उनले कालापत्थर यात्रादेखि फुक्सुण्डोसम्मको अभियान साथसाथै संस्थाको नमूना भएको भन्दै यसले सम्पूर्ण महिला वर्गमा उत्साह ल्याएको बताएका थिए ।

साथै अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, प्रकृतिमा अधारित पर्यटन र स्थानीय महिलामाथि पारेको समस्यालाई विशेष रुपमा उजागर गर्न र त्यसको समाधानका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउने तयारी रहेको जानकारी दिए ।

यात्रामा सरकारका विभिन्न तह, कूट्नीतिक नियोग, सञ्चारकर्मीसहितको सहभागिता हुने आयोजकले जनाएको छ । हवाईमार्ग हुँदै डोल्पाको जुफाल विमानस्थल, त्यसपछि सदरमुकाम दुनैबाट तीन दिनको पैदलयात्रा गरी महिला टोली फुक्सुण्डो क्षेत्रमा पुग्ने तयारी छ । साथसाथै संस्थाले गत मार्च ८ मा नारी दिवसका दिन विभिन्न ४० जना महिला लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रमा पैदल पुगेर जलवायु परिवर्तनसम्बन्धी विशेष घोषणापत्र जारी गरेको थियो ।

साथै हरेक वर्षको नारी दिवसको दिन कालापत्थर वा सगरमाथा हिमालय क्षेत्रमा जलवायु न्यायको मुद्दा बोकेर पदयात्रा गर्ने निर्णयसमेत गरेको छ । यसअघि भएको कार्यक्रमको प्रभावकारिता र सन्देशले उक्त कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिन लागिएको हो । गत मार्चको कालापत्थर कार्यक्रमका लागि वन तथा वातावरण मन्त्रालय, प्रकृति संरक्षण कोष, विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्य थियो ।

फोक्सुण्डु पदयात्रामा मधेशसहित विभिन्न प्रदेशबाट प्रतिनिधित्वमूलक रुपमा सांसद र अन्य जनप्रतिनिधि, डोल्पाका स्थानीय जनप्रतिनिधि र सरोकारवाला पक्षसमेत सहभागी भई सेफुक्सुण्डो घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।

कालापत्थर अभियानकै निरन्तरतास्वरुप आगामी अक्टोबर ८ देखि १४ सम्म पदयात्रासहितको विशेष कार्यक्रम हुन लागेको हो । वुमन युनाइटेड फर क्लाइमेट जस्टिस एण्ड नेचर वेस टुरिज्जम डेभलपमेण्ट’ भन्ने नारासहित उक्त अभियानको तयारीमा आयोजक जुटेको हो ।