प्रेस युनियनको महाधिवेशन नजिकिर्दैँ, पदाधिकारीमा क-कस्को छ दाबी ?

प्रेस युनियनको महाधिवेशन नजिकिर्दैँ, पदाधिकारीमा क-कस्को छ दाबी ?


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको आसन्न महाधिवेशन नजिकिएसँगै विभिन्न पदमा दजनौँभन्दा बढीले दाबी गरेका छन् ।

अध्यक्षको उम्मेदवारका लागि मात्रै आधा दर्जन बढीले दाबी गरेका छन् । यो संख्या अझै बढने सम्भावना रहेको छ । हालसम्म अध्यक्षको दाबी गर्नेमा अनिता विन्दु, सरोज अधिकारी, रामप्रसाद दाहाल, दिपक आचार्य, शिव लम्साल,सन्तोष न्यौपाने, भुवन भट्ट, उमिद वागचन्द, दामोदर दवाडीलगायत रहेका छन् ।

कांग्रेसको संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेकामध्ये अनिता विन्दु र सरोज अधिकारी बलियो दाबेदारका रुपमा रहेका छन् । युनियनको अध्यक्षको उम्मेदवार घोषणा गरेकी अनिता विन्दु पत्रकार महासंघको पूर्वउपाध्यक्षसमेत हुन् । विन्दुले यसअघि युनियनको पूर्वउपाध्यक्षको जिम्मेवारी पनि निर्वाह गरिसकेकी छन् । संस्थापन पक्षबाटै दाबी गर्ने अधिकारी युनियनको वर्तमान कोषाध्यक्ष हुन् ।

यस्तै, कांग्रेसको संस्थापनइतर पक्षबाट वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र पूर्व महासचिव शिव लम्सालको दाबी रहेको छ । यस्तै अध्यक्षमा आकांक्षा राख्ने सन्तोष न्यौपाने प्रेस युनियनका पूर्वसचिव हुन् । पत्रकार महासंघको निर्वाचनमा अध्यक्षको दाबीबाट पछि हटेका रामप्रसाद दाहाल पनि युनियनको अध्यक्षको आकांक्षी हुन् ।

वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल, निरज खतिवडा लगायतले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । उपाध्यक्षमा दिलिपाश्री अधिकारी, सलोजा दाहाल, ऋषिकान्त पौडेल, कल्पना शर्मा, जनार्दन घिमिरेलगायतले दाबी गरेका छन् ।

यस्तै, महासचिवमा कार्यवाहक महासचिव भीष्मराज ओझा, सचिव खिला कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । साथै केन्द्रीय सदस्यत्रय दिलिप पौडेल, रमेश वाग्ले, शिवराज योगीले महासचिवको उम्मेदवारको आकांक्षा राखेका छन् ।

यस्तै महासचिवको उम्मेदवारी घोषणा गर्नेमा काठमाडौं शाखाका पूर्वअध्यक्ष नकुल अर्याल, कञ्चनपुर शाखाका पूर्वसचिव केशव साउद, विमल ज्ञवालीलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।

उपमहासचिवमा भने पाँचजनाले उम्मेदवारी घोषणा गरेका छन् । कुमार राउत, सुलोचना गौतम, युवराज गौतम, भुवन शर्मा र कुसुम बिक (सेन्चुरी) उक्त पदका लागि दाबी गरेका छन् ।

कोषाध्यक्षमा माधव धिताल, मित्र भण्डारी, पदम जोशीलगायतले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी, सचिवमा खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, मेनुका ढुंगाना, राधा खनाल, विजय रेग्मी, कालिका महत, एलपी देवकोटा, टिकाराम सुनार लगायतले दाबी गरेका छन् ।

युनियनको ९ औं महाधिवेशन आगामी साउन ६ र ७ गते वागमती प्रदेशको राजधानी हेटौंडामा हुने गरी समय तोकिएको छ । यसअघि ०७१ भदौमा ८ औं युनियनको महाधिवेशन भएको थियो । तीन वर्षे कार्यकाल हुने युनियनमा वर्तमान कार्यसमितिले आठ वर्ष विताएको छ ।

महाधिवेशनका लागि मनोनितबाहेकका एक हजार ६२० प्रतिनिधि चयन भएका छन् ।