जसपा ‍‌‍औपचारिक फुटको सम्मुखमा, दुबै पक्षले बोलाए छुट्टाछुट्टै बैठक

जसपा ‍‌‍औपचारिक फुटको सम्मुखमा, दुबै पक्षले बोलाए छुट्टाछुट्टै बैठक


ग्लोब नेपाल
405
Shares

काठमाडौँ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) को विवाद औपचारिक फुट नजिक पुगेको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद उत्कर्षमा पुगेपछि जसपा विभाजनको सम्मुखमा पुगेको हो । अध्यक्ष यादव असार २९ र ३० गतेका लागि वीरगन्जमा केन्द्रीय समिति बैठक बोलाएका थिए । पछि संघीय परिषद् अध्यक्ष भट्टराई पक्षले भने काठमाडौंमा असार २८ र २९ मा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।

उनीहरुले यसरी छुट्टाछुट्टै ठाउँमा बैठक बोलाएपछि पार्टीको विवाद झन् थप उत्कर्षमा पुगेको हो । भट्टराई निकट नेता विश्वदीप पाण्डेका अनुसार काठमाडौंमा बस्ने बैठकमा भट्टराईले समसायमिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । छलफल हुने विभिन्न एजेन्डाहरू तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको पनि पाण्डले बताए ।

‘जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको एजेन्डाहरूमा पार्टीको आन्तरिक अवस्थाबारे छलफल, स्थानीय निर्वाचनको समीक्षाबारे छलफल, संगठनबारे छलफल, आगामी कार्ययोजनाबारे छलफल र विविध रहेका छन्’, पाण्डेले भने ।

यता, भट्टराई पक्षले पार्टीको बैठक बोलाउने तयारी गरेपछि यादव पक्षका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले गैरजिम्मेवार व्यक्तिको विधान विपरीत निर्णय गरेर बैठक बोलाएको भन्दै आपत्ति जनाएका थिए। ‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनाधिकृतरुपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको बुझिन आएको, तर त्यो बैठक पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ’, उनले विज्ञप्तिमा लेखेका थिए ।

यसअघि यादव र भट्टराईबीचको भेटमा एउटै पार्टीमा रहन सक्ने अवस्था नरहेको भन्दै सहमतिमै अलग-अलग बाटो लाग्ने निर्णय गरेका थिए । यसबीचमा जसपाका दोस्रो तहका नेताहरूले विभाजन रोक्ने प्रयास गरे पनि दुवै पक्षले केन्द्रीय समिति बैठकबाट पछि हटेका छैनन् ।

अब दुवै पक्षले केन्द्रीय समिति बैठक बोलाएपछि पार्टी विभाजनको निकै नजिक पुगेको जसपाका नेताहरुले बताएका छन् ।