काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
दिउँसो १ बजे बस्ने भनिएको बैठक साढे २ बजे मात्रै सुरु भएको हो। यद्यपि बैठकमा सहभागी हु्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा समयमै पुगेका थिए। स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक पहिलो पटक बसेको हो ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षाका साथै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बारे छलफल हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘साथीहरुले स्थानीय तह निर्वाचनको अनुभवसहित रिपोर्टिङ गर्नुहुन्छ त्यसकै आधारमा भविष्यको बाटो पनि तय गर्छौं ।’
कांग्रेस केन्द्रीय केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको समीक्षा बैठकको मुख्य एजेण्डा रहेको बताए ।
बैठकमा डा. शेखर कोइराला पक्षले भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि कोइराला पक्षधर तरुण र विद्यार्थी नेताहरुले प्रदर्शन गरेका हुन्। नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले प्रदर्शनमा भाग लिएका छन्।
सभापति देउवाले आफूनिकटलाई मात्रै भातृ संस्थाको नेतृत्वमा लगेको, कोइराला पक्षधरलाई ‘बाइपास’ गरेको, गठित कार्यसमितिलाई पूर्णता नदिएको, १० फागुनमा भंग गरेका भातृ संस्थामा नेतृत्व नछानेको भन्दै प्रदर्शन गरिएको हो।


प्रतिक्रिया