अधोगतिमा ब्रेक नलगाए मुलुक श्रीलंकाभन्दा तल पुग्ने अवस्थामा छ: ओली  

अधोगतिमा ब्रेक नलगाए मुलुक श्रीलंकाभन्दा तल पुग्ने अवस्थामा छ: ओली  


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा देखिएको अर्थतन्त्रको असहज परिस्थितिलाई रोक्न नसक्ने हो भने नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्ने दाबी गरेका छन्। 

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ। ओलीले सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार खरिद प्रकरण जस्ता पृष्ठभूमिले देशको अर्थतन्त्र श्रीलंकाको भन्दा तल पुग्ने खतरा देखिएको पनि दाबी गरे ।  ‘त्यसको प्रभाव कम्तिमा श्रीलंकासम्म पुग्ने लक्षण देखिन्छ। यही ढंगमा जाने र यो अधोगतिमा ब्रेक लगाइन भने श्रीलंका पुग्छ। यदी ब्रेक लगाइएन भने त्यो भन्दा उँधो खस्छ’ ओलीले भने।

बजेट निर्माणमा अनाडि मान्छेहरू सम्लग्न हुने, व्यापारीका प्रतिनिधिहरू सेटिङअन्तर्गत लाभको हिसाबकिताब जोडघटाउ गर्ने जस्ता कारणले देशका अर्थतन्त्र ध्वस्त भएको उनको भनाइ छ ।  कर दर, अन्तशुल्क छुट दिने जस्ता विषयमा अनाधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई कमजोर र अर्थतन्त्रलाई नै ध्वस्त पार्नेगरी, अवान्छित तत्वहरूको हात घुसाउने काम गरेको उनले बताए।

ओलीले भने, ‘हतियार खरिद न रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छ । न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्छ । अर्थमन्त्री एउटैको मात्र पनि चल्दैन र अर्थमन्त्रीको पृष्ठपोषणमा, हतियार खरिद प्रकरणमा गरिएका कुराहरू, पृष्ठभूमिमा देखिएको भरथेग त्यति सहज छैन भन्ने देखाउँछ । यसको प्रभाव कम्तिमा श्रीलंकमा पुग्ने लक्षण देखिँदैछ ।’