बाबुरामको निष्कर्ष: जसपा क्षेत्रीय दलबाट माथि उठ्नै सकेन (पूर्ण पाठसहित)

बाबुरामको निष्कर्ष: जसपा क्षेत्रीय दलबाट माथि उठ्नै सकेन (पूर्ण पाठसहित)


ग्लोब नेपाल
108
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकीकरणका तीन वर्षसम्म नेतृत्वले कांग्रेस र कम्युनिस्टको विकल्प बन्नेभन्दा क्षेत्रीय दलमै सीमित हुने चाहना राखेको बताएका छन् ।

अध्यक्ष उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन काठमाडौंमा पार्टीको विस्तारित बैठक बोलाएका भट्टराईले त्यहाँ आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले देशभर पार्टीको संगठन विस्तार गर्ने हुटहुटी नहुँदा पार्टी क्षेत्रीय दलकै रूपमा सीमित रहेको आरोप प्रतिवेदनमा लगाएका छन् ।

पार्टीमा मुख्य ६ समस्या देखिएको भन्दै उनले अध्यक्ष यादवको आलोचना गरेका छन् । साथै उक्त प्रतिवेदनमा भट्टराईले पार्टीमा वैचारिक, सांगठनिक, नेतृत्वको मोडालिटीलगायतका विभिन्न ६ वटा समस्या रहेको उल्लेख गरेका छन् । ‘पार्टी एकताको आधारभूत बुझाइ र मनोविज्ञान मधेश आन्दोलनको जगमा बनेको पार्टी हिस्साको गरिमा, महत्त्व र संवेदनशीलतालाई आत्मसात गर्दै एकतामा संलग्न सबै पक्षको समुचित सहभागितासहित राष्ट्रिय चरित्रको समावेशी पार्टी निर्माण गर्ने थियो, कांग्रेस, कम्युनिस्टजस्ता परम्परावादी मूलधार दलहरुको विकल्प निर्माण गर्दै देशलाई आर्थिक विकास, सुशासन र समृद्धिको युगतिर अभिमुख गर्नु थियो,’ भट्टराईले भनेका छन्, ‘तर, पार्टी निर्माणको तरिका भने क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो । देशका अन्य भाग र प्रदेशमा पार्टी निर्माणका लागि संगठित तथा संस्थागत प्रयत्न गर्ने हुटहुटी मूल नेतृत्वमा नै देखिएन ।’

उनले एकतायता पार्टी संगठन, व्यवस्थित र चुस्तदुरुस्त बन्न नसकेको पनि बताएका छन्। ‘पार्टी समायोजनकै बेलादेखि ‘पार्टी कब्जा गर्ने’ सोच हाबी भयो’, भट्टराईले भनेका छन्, ‘सबै पक्षको सम्मानजनक र यथोचित सहभागिता र प्रतिनिधित्व हुने गरी समयमै समायोजन सम्पन्न गर्न सहजीकरण गर्नु र सम्पूर्ण पार्टी पङ्क्तिलाई एकताबद्ध बनाई लक्ष्य उद्देश्यतर्फ निर्दिष्ट गर्ने भन्दा अनेक झमेला र अविश्वास सृजना गरी महिनौं अल्झाउने, कार्यकर्तामा निराशा र झर्को बढाउने र राजनीति तथा संगठनात्मक जीवनबाट पलायन हुन बाध्य पार्ने काम गरियो।’

यस्तो छ भट्टराईको राजनीतिक प्रतिवेदन: