सभापतिको राजीनामा माग गर्दै एमालेद्वारा सार्वजनिक लेखा समिति बैठक बहिस्कार

सभापतिको राजीनामा माग गर्दै एमालेद्वारा सार्वजनिक लेखा समिति बैठक बहिस्कार


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सभापतिको राजीनामा माग गर्दै प्रतिनिधि सभा अन्तर्रगतको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेको छ ।

मंगलबार संघिय संसद सिंहदरवारमा बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरि सुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए । दुबै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म पनि सत्तापक्षले सभापति नछोडेको भन्दै प्रश्न उठाए । त्यसपछि एमाले सांसदहरु बैठक छोडेर हिँडे ।

समिति बैठकमा एमाले सांसद बिशाल भट्टराईले भने, ‘विगत एक वर्षदेखि समिति सरकारको काम कारबाहीमा पुरै बेखबर जस्तो छ । विगतम हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्थे । यसलाई उचित मान्न सकिन्न । राष्ट्रलाई क्षति भयो । लेखा समिति छ कि छैन जस्तो भयो यो देशमा । सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठिक भएन । हामी आश्चर्यचकित भएका छौ । लेखा समिति विपक्षलाई दिनैपर्छ ।’

सभापति फेरिएपछि मात्रै सार्वजनिक लेखा समितिको कामकारबाहीमा भाग लिने एमालेको अडान छ । मंगलबार लेखा समितिमा वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।