नागरिकता बिधेयक पारित भएपछि गैरआवासीय नेपालीहरु खुशी

नागरिकता बिधेयक पारित भएपछि गैरआवासीय नेपालीहरु खुशी


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । प्रतिनिधि सभाको शुक्रवारको बैठकले नागरिकता विधेयक पारित गरे लगत्तै देश बाहिर रहेका नेपालीहरुले खुशी व्यक्त गरेका छन्।

बिधेयकमा गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने प्रस्ताव पारित भएकोमा गैर आवासीय नेपाली संघ,संस्थाले यसरी खुशी व्यक्त गरेका हुन्। नागरिकता बिधेयकको यो पहिलो संशोधनमा ‘गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गरिनेछ । तर उनीहरूलाई राजनीतिक र प्रशासनिक अधिकार भने प्राप्त हुनेछैन’, भन्ने प्रस्ताव पारित भएको छ। प्रतिनिधि सभाबाट पारित यो बिधेयक अब राष्ट्रिय सभाले पनि पारित गरेपछि राष्ट्रपतिसमक्ष कानुन बन्नका लागि पेश गरिनेछ। राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो विधेयकले औपचारिक रुपमा कानुनी मान्यता पाउनेछ।

गैर आवासीय नेपाली संघले निरन्तर दोहोरो नागरिकता र नागरिकताको निरन्तरताका विषयमा आफ्नो आवाज उठाई रहेको छ। यसैगरी विभिन्न राजनीतिक दलका प्रवासस्थित संघ, संगठनले पनि दोहोरो नागरिकताको मुद्दालाई निरन्तर उठाई रहेका छन्। तर सरकारले पेश गरेको अहिलेको बिधेयकमा गैर आवासीय नेपाली नागरिकता दिने प्रावधान उल्लेख छ। यसलाई आफुहरुको सफलताको रुपमा एनआरएन नेतृत्वले स्वागत गरेको छ। यसैगरी नेपाली कांग्रेसको विदेशस्थित भातृ संगठन नेपाली जनसम्पर्क समितिले पनि यसलाई उपलब्धिको रुपमा लिनुपर्ने भन्दै स्वागत गरेको छ।

नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति एवं कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले शुक्रवार नै विधेयक पारित भएकोमा देश बाहिर छरिएर रहेका सबै नेपालीहरु र भावी सन्ततीलाई समेत मातृभूमी नेपालसंग जोडिराख्ने एक ऐतिहासिक दिन भन्दै खुशी व्यक्त गरेका छन्। विष्टले सामाजिक सञ्जाल फेसबुक मार्फत नागरिकता बिधेयक पारित गराउन कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउबाको भूमिकाको उच्च सम्मान समेत गरेका छन्।

आम गैर नेपालीहरुको साझा समस्यालाई समाधान गर्न सबैले सामुहिक भावनाले लड्नुपर्ने विष्टको भनाई छ। ‘हाम्रो साझा अधिकार प्राप्तीका लागि सामुहिक रुपमा नै लड्नुपर्छ। यही सामूहिक प्रयासको साझा उपलब्धि हो आजको परिणाम’, विष्टले भनेका छन् । उनले देश बाहिर रहेका नेपाली नागरिकलाई मताधिकारको सुनिश्चितता गर्न सरकारसमक्ष अनुरोध समेत गरेका छन्।

यसैगरी गैर आवासीय नेपाली संघका अध्यक्ष कूल आचार्यले पनि बिधेयक पारित भए लगत्तै खुशीको दिन भन्दै स्वागत गरेका छन्। ‘प्रतिनिधिसभाको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि व्यापक छलफल गरी पारित समेत गरेको छ। अब आउँदो साता उक्त विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गर्ने र छिट्टै सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण हुने हामीले विश्वास लिएका छौं। त्यसपछि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको बाटो खुल्नेछ। प्रतिनिधि सभाबाट उक्त विधेयक पारित गर्ने सम्माननीय प्रधानमन्त्रीज्यू, सम्पूर्ण सांसदज्यूहरु, माननीय गृहमन्त्रीज्यू, कानूनमन्त्रीज्यू, राजनीतिक दलका नेताहरु, कानूनविद्, मिडिया लगायत संघका सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। संसारभरि रहेका नेपालीहरुलाई मातृभूमिसंग जोड्ने यो प्रयासले छिट्टै सार्थकता पाउने हामीले अपेक्षा गरेका छौ’, आचार्यले आफ्नो फेसबुक वालमा लेखेका छन्।

यसैगरी विभिन्न देशका एनआरएन राष्ट्रीय समिति र एनआरएन आइसीसीका पदाधिकारीहरुले पनि छुट्टाछुट्टै रुपमा नागरिकता विधेयक पारित भएकोमा खुशी व्यक्त गरेका छन्।