लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको टेन्डर दोस्रो पटक विवादस्पद

लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको टेन्डर दोस्रो पटक विवादस्पद

पुरानै ठेकदारलाई ठेक्का दिने गरी नयाँ मापदण्ड तयार


ग्लोब नेपाल
17.5k
Shares

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माण दोस्रो पटक पनि सीमित ठेकदारले पाउने गरी मापदण्ड बनाएर टेन्डर आह्वान गरेपछि विवादमा मुछिएको छ । प्रादेशिक विकास प्राधिकरणले यसअघि सीमित ठेकदार मात्र फिट हुने गरी मापदण्ड बनाएर टेन्डर आह्वान गरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले रोकेको थियो ।

उक्त भवन निर्माणको टेन्डरमा जेडआईइसी–शर्मा–रसुवा जेभीले मात्र सहभागी जनाउन पाउने गरी मापदण्ड बनाइएको थियो । स्पेसिफिकेशनमै सेटिङ गरेर टेन्डर आह्वान गरेपछि लुम्बिनी प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसी र पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरे विवादमा मुछिएका थिए ।

आर्थिक रुपमा ठूलै चलखेल भएको यो ठेक्कामा पुनः प्रि–क्वालिफिकेशनमार्फत् ठेक्का कम्पनी छनोट गरी बोलपत्र आह्वान गर्ने गरी गत असार १० गते ठेक्का आह्वान गरिएको छ । ५ अर्ब १३ करोड ७० लाख रुपैयाँको लागतमा यो ठेक्का पनि पुरानै ठेकदार कम्पनी छनोट हुने गरी प्रि–क्वालिफिकेशनको मापदण्ड राखिएको छ ।

बोलपत्रमा सहभागी हुने विदेशी कम्पनीले विगत १० वर्षमा २ अर्ब ८१ करोडको डबल बेसमेन्ट बिल्डिङको कार्य आफ्नो देशबाहेक अन्य कुनै देशमा गरेको हुनुपर्ने मापदण्ड राखिएको छ । यो मापदण्ड विदेशी कम्पनीलाई ठेक्का प्रकृयामा सहभागी हुनबाट रोक्ने एवम् हतोत्साही गर्न राखिएको हो भन्ने कुरा बुझ्न कठिन छैन । सार्वजनिक खरिदको मर्म विपरित यो मापदण्ड बनाइएको छ । यो मापदण्डअनुसार तिनै पुराना ठेकदार कम्पनीहरुले मात्र भाग लिन सक्ने बुझिन्छ ।