नर्भिक अस्पताललाई डेढ रोपनी सरकारी जग्गा वार्षिक ३७ हजार रुपैयाँमा

नर्भिक अस्पताललाई डेढ रोपनी सरकारी जग्गा वार्षिक ३७ हजार रुपैयाँमा

सरकारी मूल्यांकनअनुसार नर्भिकले भाडामा लिएको उक्त जग्गाको मूल्य प्रतिआना ६६ लाख रुपैयाँ पर्छ । तत्काल सरकारी मूल्यमै उक्त जग्गा बिक्री गर्दा पनि झन्डै १७ करोड रुपैयाँभन्दा माथि पर्न जान्छ ।



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ११ मा रहेको विवादस्पद नर्भिक अस्पतालले भाडामा लिएको डेढ रोपनी सरकारी जग्गाको वार्षिक ३७ हजार ९ सय ८९ रुपैयाँ बहाल बुझाउँदै आएको तथ्य सार्वजनिक भएको छ । महानगरपालिकाले सार्वजनिक जग्गामा बनेको भौतिक संरचना हटाउन सूचना टाँस गरेपछि अस्पतालले भूमिसुधार कार्यालय काठमाडौंसँग गरेको सम्झौता सार्वजनिक गर्दा उक्त तथ्य बाहिर आएको हो । हाल उक्त जग्गाको मूल्य १७ करोड रुपैयाँभन्दा माथि पर्न आउँछ ।

भूमि सुधार कार्यालय काठमाडौंको तर्फबाट लुम्बप्रसाद सिवाकोटीले हस्ताक्षर गरेको उक्त सम्झौताको बुँदा नं. ३ मा भनिएको छ, पहिलो पक्षले जफत गरेको काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित कि.नं. २०८५ को क्षे.फ. १–८–१–१ जग्गा दोस्रो पक्षले वार्षिक रु. ३७९८९।– सैतिसहजार नौ सय उनानब्बे रुपैयाँ मात्र बुझाउने गरी बहालमा लिने र पहिलो पक्षको अधिनमा रहेको सो जग्गा दोस्रो पक्षलाई उपभोग गर्न दिने उल्लेख छ ।

दोस्रो पक्ष अर्थात् सर्वसाधारणको उपचार पहुँच नपुग्ने नर्भिक अस्पतालले उक्त क्षेत्रफलको जग्गा २०५९ सालदेखि प्रयोग गर्दै आएको सम्झौतामा उल्लेख छ । सम्झौता २०६५ साल जेठ १ गतेदेखि लागू भएको छ । त्यसभन्दा अगाडिको भाडाबापत १ लाख ६२ हजार ४ सय ८६ रुपैयाँ एक मुष्ट दाखिला गर्ने सम्झौतामा उल्लेख छ ।

२० वर्षका लागि लिइएको उक्त जग्गा भाडा सम्झौताको ११ नम्बर बुँदामा हरेक दुई वर्षमा भाडा पुनरावलोकन हुने उल्लेख छ । तर वार्षिक कति रुपैयाँ भाडा वृद्धि गर्ने भन्ने काहिँकतै उल्लेख छैन ।

सरकारी मूल्यांकनअनुसार नर्भिकले भाडामा लिएको उक्त जग्गाको मूल्य प्रतिआना ६६ लाख रुपैयाँ पर्छ । उक्त जग्गा तत्काल सरकारी मूल्यमै बिक्री गर्दा पनि झन्डै १७ करोड रुपैयाँभन्दा माथि हुन आउँछ ।

मालपोत ऐन, २०३४ अनुसार डिल्लीबजार कार्यक्षेत्रमा रजिष्ट्रेशन हुने लिखतमा थैली अङ्क कायम गर्ने प्रयोजनका लागि जग्गाको न्यूनतम मूल्याङ्कन समितिले नर्भिक अस्पताल वरपर क्षेत्रको जग्गालाई प्रतिआना ६६ लाख रुपैयाँ मूल्यांकन गरेको छ । सरकारी निकायबाट भएको मूल्याङ्कनभन्दा बजारमा कारोबार भने दशौँ गुणा बढीमा हुने गरेको पाइन्छ ।

मूल्यांकन समितिले माइतीघर–सिंहदरबार दक्षिण, पश्चिम गेट–पुतलीसडक कृष्ण पाउरोटी हात्तिसार, जयनेपाल कान्तिपथ, जमल दरबारमार्ग र घण्टाघरदेखि कमलादीमोडसम्मका मूलसडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना ६६ लाख रुपैयाँ रहने गरी प्रस्तावित गरिएको छ । त्रिपुरेश्वरसम्मको मूल सडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना रु ६६ लाख नै न्यूनतम मूल्याङ्कन तोकिएको छ ।