यस्तो छ चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको नेपाल भ्रमण कार्यक्रम

यस्तो छ चिनियाँ जनकंग्रेसका अध्यक्ष लीको नेपाल भ्रमण कार्यक्रम


ग्लोब नेपाल
108
Shares

काठमाडौं । चीनको नेशनल पिपुल्स कंग्रेसका सभामुख ली चाङ्सु सोमबारदेखि तीन दिने नेपाल भ्रमणमा आउँदैछन्।

उनी चिनियाँ विशेष विमानबाट ९६ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ली दिउँसो ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन्। उनलाई त्रिभुवन विमानस्थलमा सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहितले स्वागत गर्ने छन्।

संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार उनको भ्रमणमा नेपाल र चीनबीचमा संसदीय तहमा सहकार्य गर्ने गृहकार्य भएको छ ।

यस्तो छ अध्यक्ष लीको ४ दिने कार्यक्रम

सोमबार

सोमबारको कार्यसूचीअनुसार उनी साढे ३ बजे काठमाडौंमा उत्रने । चिनियाँ सभामुख लीको नेपाली समकक्षी (सभामुख) अग्नि सापकोटासँग अपरान्ह पौने पाँच बजे संसद भवनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

यस्तै सोमबार नै बेलुकी साढे सात बजे उनको सम्मानमा सभामुख सापकोटाले सोल्टी होटलमा रात्रिभोज आयोजना गरेका छन्। त्यसपछि बेलुकी नौ बजे ली फेरि संसद भवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने छन्।

मंगलबार

चिनियाँ सभामुखका अधिकांश भेटघाटका कार्यक्रम मंगलबारका लागि तय भएका छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग मंगलबार बिहान सवा ९ बजे संघीय संसद भवनमा भेटवार्ता गर्ने छन्। त्यसपछि सभामुख लीले अन्य नेपाली नेताहरुसँग भेटवार्तालाई निरन्तरता दिने छन्।

संसद भवनमै मंगलबार बिहान १० बजे संसदको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब एक घढटा वार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केहि समय भेटवार्ताको कार्यसूची छ।

त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने छ। खानापछि दिउँसो ३ बजे सभामुख ली र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता समय निर्धारण गरिएको छ।

यता प्रधानमन्त्री शेरबहादुर देउवासँग सभामुख लीले बेलुकी अपरान्ह ४ बजेर ५ मिनेटदेखि बालुवाटारमा आधा घण्टा वार्ता गर्ने छन्।

बुधबार

चिनिया सभामुख लीको प्रतिनिधिमण्डलले बुधबार बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म दुई घण्टा भक्तपुर भ्रमण गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारी र लीबीचमा भेटवार्ता हुने छ।

राष्ट्रपतिसँगको भेटपछि लीको प्रतिनिधिमण्डल संघीय संसद भवनमा फोटो सेसनका लागि पुग्नेछ।

त्यसपछि बेलुकी ५:२० बजे चिनियाँ प्रतिनिधिमण्डल र सभामुख सापकोटाबीच भेटवार्ता तय गरिएको छ। यस वार्तामा नेपाल र चीनबीच सांसद आदानप्रदानसम्बन्धी समझदारीमा हस्ताक्षर हुने कार्यतालिका छ।

बिहिबार

बिहिबार बिहान उनीसहितको चिनिया प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम रहेको छ ।