काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिभि सभा र प्रदेश सभा निर्वाचनमा सीट बाँडफाँट टुंग्याउन भनेर बसेको सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक सोमबार (आज) पनि निष्कर्षमा नपुगि सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेदेखि बसेको बैठक निर्णयको नजिकमा पुगेको तर सहमति भइनसकेको सञ्चारमन्त्री एवं सीट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । एउटै निर्वाचन क्षेत्रमा दाबी गर्ने दुई/तीन दलका नेताहरूबीच छलफल भएको कार्कीले बताए । ‘निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले गएका छौं । सबैले लचिलो हुनुको विकल्प छैन तर दलहरूको आ-आफ्नो अडान छ । ती अडानमा सूक्ष्म ढंगले छलफल गरेर अगाडि बढेका छौं’, उनले भने ।
दलका नेताहरूबीच कुन क्षेत्र कसले लिने भन्नेबारे छलफल भइरहेकाले तत्काल निष्कर्ष निस्कने संभावना नरहेको कार्कीले संकेत गरे । ‘दलहरूले आ-आफ्नो अडान राखेको र त्यसलाई विश्लेषण गर्ने काम भइरहेको उनको भनाइ छ ।‘दुई पक्षीय र त्रिपक्षीय छलफल चलिरहेको छ । अझै छलफल बाँकी रहन्छ’, उनले भने ।
एउटै निर्वाचन क्षेत्रमा दाबी गर्ने दलहरूबीच छलफल भइरहेको कार्कीले जानकारी दिए । उनले भने, ‘एउटै सिटमा दुई, तीन दलले दाबी गरेका छन् । त्यो सबै मिलाएर एक जना मात्रै गठबन्धनको उम्मेदवार बनाउनका लागि दुईपक्षीय र त्रिपक्षीय छलफल भइरहेको छ ।’


प्रतिक्रिया