जनकपुर । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयकमा धेरै प्रावधान गलत रहेको बताएका छन् ।
एमाले धनुषाद्वारा जनकपुरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले विधेयकमा धेरै प्रावधान उल्लेख गर्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् । उनले संसदबाट पास भएको विधेयक काम नलाग्ने रहेको भन्दै जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनुपर्ने प्रावधानसहित २/४ लाइन लेखेर अर्को विधेयक ल्याउन माग गरे।
उनले बाहिरका अनाडीको कुरा सुनेर विधेयक ल्याइएको बताए । ‘नागरिकता विधेयकबारे देशको ठूला पार्टी एमालेसँग सरसल्लाह नगर्ने । संसद्मा छलफल गर्न नदिने,’ ओलीले भने, ‘राष्ट्रपतिको कुरा नमान्ने । विचार गरौँ भन्दा छलफलै नगरी बहुमतको बलमा राष्ट्रपतिको प्रस्ताव अस्वीकार गर्न मिल्छ ? बाहिरका अनाडीको कुरा सुनेर विधेयक ल्याइयो छ ।’
एमालेले नागरिकता दिएन र विधेयक रोकेर राखेको भनेर मधेसमा भ्रम छरिएको बताउदै ओलीले नागरिकता समस्या समाधानका लागि आफू र एमाले पार्टी नै बढी लडेको दाबी गरे । ‘२०५१ सालमा म गृहमन्त्री भएको बेला नागरिकता आयो, कराएर साँच्चै नागरिकताको समस्या के हो भनेर समाधान गर्न खोजे। समाधान गर्न खोज्दा सरकार नै ढालियो,’ एमाले अध्यक्ष ओलीले भने ।
उनले नागरिकता समस्यालाई लिएर गठबन्धन दलले झुटको खेती गरिरहेको आरोप लगाए। ‘जन्मसिद्धको सन्तानले नागरिकता पाउनुपर्छ भनेर म ७ वर्षदेखि कराउँदैछु । तर, उनीहरु भ्रम र झुटको खेती गरेका छन् ।’


प्रतिक्रिया