ओली र प्रचण्डसंग भेटे चिनियाँ नेता लीले

ओली र प्रचण्डसंग भेटे चिनियाँ नेता लीले


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको संघारमा चिनिया उच्च तहका नेताहरुको नेपाल भ्रमणलाई विशेष चासोकोरुपमा लिइएको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरुबीच शिष्टाचार भेटवार्ता सुरु भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ । भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्लको सहभागिता थियो ।

यसअघि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष लीले भेटवार्ता गरेका थिए । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत थिए । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौँ आएका हुन् ।

सोमबार नै सभामुख सापकोटा र अध्यक्ष लीबीच सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । अध्यक्ष लीले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री तथा मनित्रपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग आज अपराह्न शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ । अध्यक्ष लीले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

चिनियाँ प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।