जबराले आरोप लगाएका व्यक्तिसँग पनि बयान लिने महाअभियोग समितिको तयारी

जबराले आरोप लगाएका व्यक्तिसँग पनि बयान लिने महाअभियोग समितिको तयारी


ग्लोब नेपाल
162
Shares

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा आरोप लगाएका व्यक्तिहरूसँग पनि प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले बयान लिने तयारी गरेको छ ।

मंगलवार बसेको समितिको बैठकले जबराले मुछेका केही व्यक्तिसँग छलफल गर्ने सहमति गरेको जसपा सांसद तथा समितिका सदस्य प्रमोद साहले जानकारी दिए । साहले जबराले बयानका क्रममा विभिन्न व्यक्तिलाई गम्भीर आरोप लगाएकाले पनि उनीहरूलाई पनि बोलाइने तयारी भएको बताए ।

बयानका क्रममा जबराले प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका नेता तथा सांसद, सहकर्मी न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूमाथि गम्भीर आरोप लगाएका छन् ।

मंगलबार जबराको बयान सुरु हुनुअघि सञ्चारकर्मीसँगको कुराकानीमा सदस्य साहले भने, ‘जबराले नाम लिएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी छ । कसैले कसैमाथि आरोप लाउँदा पुष्टि हुने कुरा होइन । त्यसैले आरोप लगाइएका व्यक्तिहरूका कुरा पनि सुनिनुपर्छ भन्ने हो ।’

सर्वसम्मत, बहुमत या अल्पमत जे भए पनि भदौ मसान्तमै प्रतिवेदन तयार हुने साहले बताए । समितिले मंगलवार चोलेन्द्रसँग अन्तिम दिनको बयान लिँदैछ । ४३ मध्ये ८ वटा मात्र प्रश्न बाँकी रहेकोले आज बयान सकिने समितिका सभापति कांग्रेस सांसद रामबहादुर विष्टले बताए ।