सन् २०२६ सम्म नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गरिन्छः प्रधानमन्त्री

सन् २०२६ सम्म नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गरिन्छः प्रधानमन्त्री


ग्लोब नेपाल
459
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन्।

बुधबार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने बताएका हुन् । उनले वर्तमान सरकारले १५औँ पञ्चवर्षीय योजनाअनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताए। प्रधानमन्त्री देउवाले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय नीति तथा योजना रहेको बताए। उनले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यकता पर्ने बताए।

प्रधानमन्त्री देउवाले त्यसको लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोगको आवश्यकता रहेको औँल्याए। उनले मुलुकमा पूर्वाधार विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै लगानी बढाउन आग्रह गरे। ‘सरकारले १५ औँ पञ्चवर्षीय योजनालाई प्राथमिकता दिएर पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ। सरकारले राष्ट्रिय नीति बनाएर २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने योजना बनाएको छ’, प्रधानमन्त्री देउवाले भने,‘ कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक छ। नेपाललाई २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना छ।’

उनले नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने अवस्था रहेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले लगानी बोर्डले ३३ वटा आयोजनाको लागि ९ अर्ब डलर बराबरका योजना स्वीकृत गरेको भन्दै जसमध्ये २० वटा ठूला जलविद्युत परियोजना रहेको बताए।

प्रधानमन्त्री देउवाले भने, ‘मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रको लगानी महत्वपूर्ण रहन्छ भने वैदेशिक लगानी पनि आवश्यक भएकाले सबैलाई लगानी गर्न आग्रह छ। नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्ने सकिने छ। लगानी बोर्डले लगानीको क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई सहजता प्रदान गर्नेछ। लगानी बोर्डले ३३ वटा आयोजनाको लागि ९ अर्ब बराबरको डलरको ओजना स्वीकृत गरेको छ। जसमा २० वटा ठूला जलविद्युत परियोजना रहेका छन्।’