संक्रमणकालीन न्यायमा राजनीति छिराएर अप्ठ्यारो पारे राम्रो हुँदैन: प्रचण्ड

संक्रमणकालीन न्यायमा राजनीति छिराएर अप्ठ्यारो पारे राम्रो हुँदैन: प्रचण्ड


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण गर्न नहुने बताएका छन्।

मंगलवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रहभन्दा टाढा रहेर टुंग्याउनुपर्ने बताए । उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सहमतिकै आधारमा अघि बढाइनुपर्ने पनि बताए। ‘संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सबैको चिन्ता र चासो छ । यसमा कोही पक्ष र विपक्ष हुन जरुरी छैन । समस्या बल्झाउने गरी विधेयकमा कुनै शब्द राख्न खोजे दुर्भाग्यपूर्ण हुनेछ’, प्रचण्डले भने ।

उनले विधेयकमा शब्द जस्तोसुकै राखेपनि भोलिका शक्ति सन्तुलनले गर्ने कार्यान्वयन हुने बताए । मानव अधिकारको गम्भीर उल्लंघनका मुद्दामा अदालतले गर्ने फैसलाविरुद्ध अपिलमा जान सक्ने व्यवस्था राख्नुपर्ने पनि प्रचण्डको माग छ ।

‘संक्रमणकालीन न्यायको विषय हामी सबैको चासो,सरोकार र चिन्ताको विषय हो। हुनुपर्छ पनि। यो पक्ष, विपक्षको कुरा होइन। पछिल्लो समय मान्य मन्त्रीजीले धेरै नै मिहेनत गरेर कुरा गर्नुभएको छ। मैले सम्माननीय राष्ट्रपतिजीसँग पनि यो विषयमा राष्ट्रिय सहमति बनाएर टुंगोमा पुग्नुपर्छ र यसमा अरु पोलिटिक्स नछिरोस्। यहाँ पोल्टिकल आग्रह, पूर्वाग्रह यहाँभित्र आउनु देश र लोकतन्त्रको लागि राम्रो हुँदैन’, प्रचण्डले. भने, ‘अरु विषयमा हाम्रा डिबेट हुन सक्लान्। तर यो त यस्तो ऐतिहासिक र युगान्तकारी विषय हो, जुन अन्तर्गत नै हामी संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै आज हामी यो प्रक्रियामा अघि बढेका छौँ। यो आग्रह भन्दा बाहिर हामी सबै जानैपर्छ।