काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय चुनावअघि नहुने बताएको छ ।
साथै मन्त्रालयले ‘अग्निपथ भर्ती’ बारे चुनावपछि बन्ने नयाँ सरकारले निर्णय गर्ने पनि बताएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिले उक्त विषय थाती राखिएको जनाएकी हुन् । भारतको अग्निपथ योजनामा नेपाली युवालाई पनि सहभागी गराउन खोजेको छ । तर नेपालले यसबारे निर्णय गरेको छैन । परराष्ट्रकी प्रवक्ता लम्सालले अग्निपथमा सहभागी हुने वा नहुने बारे राष्ट्रिय सहमति पनि आवश्यक पर्ने भएकाले तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् ।
‘नेपाल सरकारको निर्णय भनेको नै नवनिर्वाचित सरकारले नै गर्ने भन्ने हो । तत्काल यसबारे छलफल र वार्ता अघि बढ्दैन’, प्रवक्ता लम्सालले भनिन्, ‘यसबारेमा यो गरौँ त्यो गरौँ भन्नुभन्दा पनि नवनिर्वाचित सरकारले नै सबै राजनीतिक दलहरूसँग कुरा गरेर यस विषयलाई अगाडि बढाउँदा नै उपयुक्त हुन्छ भन्ने हो ।’
प्रवक्ता लम्सालले अहिले सरकार चुनावी सरकार भएको भन्दै राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको तत्काल ‘अग्निपथ भर्ती’ बारे निर्णय नहुने बताइन् । ‘यो चुनावी सरकार भएकाले पनि र राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको हुँदा पनि तत्काल निर्णय हुने सम्भावना छैन’ उनले भनिन् ।


प्रतिक्रिया