कांग्रेस बैठक: सहमहामन्त्रीलाई सिफारिस भएका नामको क्लस्टर छुट्याउने जिम्मा

कांग्रेस बैठक: सहमहामन्त्रीलाई सिफारिस भएका नामको क्लस्टर छुट्याउने जिम्मा


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले सहमहामन्त्रीहरूलाई समानुपातिकतर्फ उम्मेदवारका लागि सिफारिस भएका नामहरूबाट क्लस्टर छुट्याएरमात्रै छलफल गर्ने भएको छ ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समिति बैठकले पार्टीका आठ सहमहामन्त्रीहरूलाई सम्बन्धित क्लस्टरमा समानुपातिकतर्फ उम्मेदवारका लागि सिफारिस भएका नामहरूमध्ये क्लस्टर छुट्याएर ल्याउन जिम्मेवारी दिएको हो ।

कांग्रेसमा समावेशिताको क्लस्टरअनुसार सहमहामन्त्री चुनिएका छन् । उनीहरुले आफ्नो आफ्नो क्लष्टरको सूची बनाउने जिम्मा पाएका हुन् । ‘समावेशिताको क्लष्टर र पार्टीले बनाएको मापदण्डलाई आधार बनाएर नाम अर्को बैठकमा प्रस्तुत गर्ने भन्ने भयो’, बैठकमा सहभागी नेता अर्जुनरसिंह केसीले भने, ‘आएको नामहरुमा क्लस्टर र मापदण्ड हेरेर को कोलाई प्राथमिकता दिने भनेर उहाँहरुले रिपोर्ट बुझाउनुहुनेछ।’ समावेशिताका लागि मुस्लिम, थारु, महिला, जनजाति, मधेसी, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लस्टर छन् ।

कांग्रेसले विधानबमोजिम १६५ र ३३० वटै निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम सिफारिस गरी पठाउन निर्देशन गरेको थियो । जिल्ला र क्षेत्रीय समितिहरूले भने आकांक्षी सबैको नाम राखेर सिफारिस गरी पठाएका छन् ।