जबरामाथिको अवरोध हटाउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

जबरामाथिको अवरोध हटाउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह


ग्लोब नेपाल
189
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न आग्रह गरेको छ ।

प्रधानन्यायाधीशको निवास बालुवाटारमा अनुगमनपछि आयोगले जारी गरेको विज्ञप्तिमा संविधान र कानून अनुसार यस प्रकारको गतिरोध अन्त्य गर्न आग्रह गरेको हो । ‘जुनसुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यसप्रकारका अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ । अतः संविधान र कानूनमै टेकेर यस प्रकारको गतिरोध अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’

सुरक्षाकर्मीहरूले विनाकारण निवासबाट बाहिर निस्कन नदिएको जानकारी प्राप्त भएपछि अनुगमन गर्न गएको जनाएको छ । आयोगले राणाको निवासमा आवत जावत गर्ने व्यक्तिको निगरानी गरिएको, आवासबाट बाहिर निस्कने सवारी साधन जाँचमा कडाइ गरिएको र राणाको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको पाइएको जनाएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोग टोलीले तहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसँग बुझ्दा माथिको आदेशबाट बाहिर निस्कन रोकावट गरे भन्ने जानकारी टोलीलाई प्राप्त भएको छ ।’