एमालेले बुझायो समानुपातिक उम्मेदवारको बन्द सूची

एमालेले बुझायो समानुपातिक उम्मेदवारको बन्द सूची


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

आइतबार नै टुंग्याएको सूची सोमबार बुझाइएको हो। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकबाट उम्मेदवारको नाम टुंगो लगाएको थियो। २७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङकका अनुसार एमालेले यसपल्ट समानुपातिक सूचीमा सवै नयाँ नाम समावेश गरेको छ। गत भदौ ११ गते केन्द्रीय कमिटी बैठकले दिएको म्यान्डेट पछ्याउँदै हालसम्म (२०६४, २०७० र २०७४) समानुपातिकमा अवसर पाएकाहरु सूचीमा अटाएका छैनन्।

यस पटकको बन्द सूचीमा स्थायी कमिटी सदस्य रघुजी पन्त, गोरखबहादुर बोगटी, लिलबहादुर थापा, ईश्वरी रिजाल विश्वकर्मासहितका नेताहरू समानुपातिकको बन्द सूचीमा परेका छन् । महिलातर्फ नैनकला थापा, उमा कोइराला, सुनिता बराल, क्रान्ति बुर्लाकोटी, भक्तकुमारी लामा, मेनुका पछाईसहितका नेतृहरू रहेको एक सदस्यले बताए । समानुपातिकको सूचीमा पर्ने नेता रघुजी पन्त यसअघि ललितपुर ३ बाट निर्वाचित सांसद हुन् भने बोगटी कर्णाली प्रदेश कमिटीको पूर्वअध्यक्ष एवं पार्टीको पोलिटब्यूरो सदस्य हुन् ।

त्यस्तै बाग्लुङका थापा माओवादी केन्द्रबाट आएका नेता हुन् । रिजाल एमाले केन्द्रीय कार्यालयका पूर्वसचिव हुन् । नैनकला थापा पूर्वसञ्चारमन्त्री हुन् । उनी उपाध्यक्ष रामबहादुर थापाको पत्नी पनि हुन् । यस्तै सिन्धुलीकी कोइराला केन्द्रीय सदस्य हुन् भने सुनिता र मेनुका विद्यार्थी नेतृ हुन् ।