‘संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई छैन’

‘संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई छैन’


ग्लोब नेपाल
135
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको प्रमुख पालक र संरक्षकबाटै सचेतनापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको अरोप लगाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि त्यस कदमविरुद्ध बुधबार एक विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका हुन् । उनले त्यसविरुद्ध बृहद् जनआवाज उठिरहेकोप्रति दुःख व्यक्त गरेका छन् ।

‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ-आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्दछ,’ बुधबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति पुनले भनेका छन्, ‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेको छ । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

दुवै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकृत गरेको विषयमा एकथरि राजनीतिक दल र नागरिक समाजले असंवैधानिक कदम भन्दै विरोध गरेका छन् भने अर्काथरिले समर्थन गरेका छन् ।