मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रियः प्रचण्ड

मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै सक्रियः प्रचण्ड


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको पालना हुन नसकेको आरोप लगाएका छन् ।

पार्टी निकट अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिबाट भएको यो कार्यलाई सामान्यरुपमा लिन नमिल्ने धारणा पनि राखे । अध्यक्ष प्रचण्डले मुलुकमा ऐतिहासिक जनआन्दोलन र जनयुद्धका उपलब्धिलाई संस्थागत हुन नदिने शक्ति अझै क्रियाशील रहेको बताए ।

उनले गत वर्ष संसद् विघटनबाट सुरु भएको प्रतिगमन त्यतिबेलाका लागि परास्त गरिए पनि त्यो अझै नरोकिएको समेत बताउ । यसका विरुद्धमा आन्दोलनको तयारी गर्न अध्यक्ष प्रचण्डले किसानलाई आग्रह गरे । “हामीले आवाज उठाएनौँ भने प्रतिगमनको फँडाले फेरि डस्न सक्छ, किनकी यसले ऐतिहासिक उपलब्धिविरुद्ध रातदिन प्रहार र षडयन्त्र गरिरहेको छ”, उनले भने ।

यसका साथै अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई सिध्याउन नेतृत्वमाथि प्रहार गर्ने क्रममा आफूमाथि भ्रष्टाचारका साथै अन्य खालका झुटा प्रचार केन्द्रित गरिएको बताए । “भारत गएका बेला हुँदै नभएको भेटलाई पनि भेटभयो भन्दै नितान्त झुटा प्रचार गरिएको छ”, अध्यक्ष प्रचण्डको भनाइ छ । आफूले दुई पटक सरकारको नेतृत्व गर्दा ‘भ्रष्टाचार भयो’ भन्ने अवसर कसैलाई नदिएको भन्दै उहाँले अहिले करोडौँ खर्च गरेर आफूविरुद्ध प्रचार केन्द्रित गरेको बताए ।