म र बाबुरामजी मिलेर नयाँ खालको जनयुद्ध गर्छौं: प्रचण्ड

म र बाबुरामजी मिलेर नयाँ खालको जनयुद्ध गर्छौं: प्रचण्ड


ग्लोब नेपाल
810
Shares

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा अर्को नयाँ खालको जनयुद्धको आवश्यक्ता भएको निश्कर्षमा आफूहरु पुगेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले त्यो जनयुद्धमा डा. बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्ने बताए । ‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो,’ उनले भने,‘अहिले फेरी समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौं ।’

उनले बाबुराम र आफ्नो बानी स्वभाव भने धेरै नमिल्ने पनि बताए। प्रचण्डले भने, ‘बाबुरामजीको र मेरो बानी, ब्यवहार स्वभाव धेरै मिल्दैन्। हामी दुई एकठाउँमा हुँदा चाही ठूलो शक्ति र तागत भएको थियो ।’

अध्यक्ष प्रचण्डले पहिलेको जनयुद्धका लागि बाबुराम र आफूले ठूलै छलफल गरेको पनि बताए । ‘कोटेश्वर र बाबुराम जीको घरमा ठूलै छलफल गथ्र्यौ । हामीले ठूलो कमिटमेन्ट गरेका थियौं । धेरै त्यो असम्भव कुरा हो पनि भने, त्यतिखेरका ठूला पार्टीले ३ महिनामै सकिन्छन् पनि भने, हाम्रो कमिटमेन्ट धेरै ठूलो थियो,’ उनले भने ।

प्रचण्डले आफूहरुको मिलन चुनावका लागि मात्र नभएको बताए। प्रत्येक दशकमा एउटा काम गर्ने गरेको बताउँदै प्रचण्डले भने, ‘बढीमा एक दशकमा एउटा काम गरेका छौं। एक दशक जनयुद्ध लड्यौं, एक दशक लोकतान्त्रिक गणतन्त्र ल्याउनेमा लाग्यौं, एक दशक आ-आफ्नो ठाउँमा पुग्यौं। अबको एक दशक विकासको नयाँ मोडल दियौं भन्दै खुसीसाथ संसारबाट विदा हुने सपना हामीले बनाएका छौं।’

प्रचण्डले आफू र बाबुराम भट्टराईले संविधान घोषणापछि गरेका प्रयोगहरु व्यवहारतः सफल नभएको स्वीकारोक्ति गरे। उनले ती प्रयोगहरु व्यवहारतः अघि लैजान सफल नभएको बताए।