काठमाडौं । नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक कुरा नसुनेर एकलौटी रुपमा अघि बढे आफूहरु विद्रोहमा उत्रिने चेतावनी दिएको छ।
शनिवार काठमाडौंमा आयोजित कोइराला समूहको खबरदारी भेलाको अध्यक्षता गरेका नेता तथा पूर्व सांसद जगदीश नरसिंह केसीले समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत नपाए आफ्नो समूह बाहिरै बस्नेत बताए । ‘कांग्रेसमा ६०/४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको हो’, उनले भने, ‘उहाँले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिनुभएको हो । अहिले पनि सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाउने हो भने देउवा पक्ष निर्वाचनमा एक्लै लडे हुन्छ, हामी बाहिर बसेर रुख चिन्हमा भोट हाल्छौँ ।’
उनले सभापति देउवाले समानुपातिकको सूचीमा पनि अन्तिमा शेखर पक्षका मानिसहरुलाई समावेश गरेको र एकलौटी रुपमा सूची तयार गरेको दाबी गरे । ‘शेखर पक्षको नाम निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा आठौं र नवौ नम्बरमा मात्र राखिएको छ,’ उनले भने, ‘पालो नआओस् भन्ने सोचका साथ यस्तो सूची बनाएको देखिन्छ।’
५० औं वर्ष एकै ठाउँमा बलिदान गरेका साथीहरुलाई सभापतिले समय नदिने र गठबन्धनभित्र घन्टौसम्म बैठक बसेर नहुने उनले बताए। चार दलसँग चाहिँ हदैसम्म लचक हुने तर कांग्रेसभित्रको कुरा नसुन्ने हो भने आफूहरुले विद्रोह गर्ने उनले चेतावनी दिए।
शेखर समूहकै युवा नेता मनोजमणी आचार्यले टिकट न्यायोचित वितरण नभए ४० प्रतिशत चाहिने बताए । आचार्यले भने, ‘हामीले ल्याएको ४० प्रतिशत मत के को लागि हो रु महामन्त्रीले ल्याएको ३ हजार मतबारे बोल्नुपर्छ कि पर्दैन ? हामीलाई कि त न्यायोचित वितरण चाहियो नत्र ४० प्रतिशत चाहिन्छ,चाहिन्छ र चाहिन्छ । हिजो शेरबहादुरलाई ४० प्रतिशत चाहिने हो भने भने आज शेखर पक्षलाई किन नचाहिने ? अब यो यात्रा देशभर चल्छ ।’
आचार्यले कांग्रेस एक्लै लड्दा बहुमतनजिक पुग्ने अवस्था रहे पनि सभापति देउवाले गठबन्धनका नाममा पार्टीभित्रको इतर समूहलाई नामेट पार्न खोजेको आरोप लगाए । यस्तै नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा पराजित उम्मेदवार तथा युवा नेता भुपेन्द्रजंग शाहिले पनि पार्टीभित्र न्यायोचितरुपमा टिकट वितरण नभए सिँगो कर्णाली प्रदेशमा विद्रोह हुने बताए ।
उनले आफू कर्णाली प्रदेश सभापति हुदाँ ल्याएको ४४ प्रतिशत मतको कदर नगरे पार्टीले क्षति बेहोर्नुपर्ने बताए । नेता शाहीले शेखर समूहलाई मत दिएका कारण टिकटबाट वञ्चित भएका कार्यकर्तालाई सडकमा अलपत्र पारेर नेताहरूले मात्र चुनाव लड्न नपाउने चेतावनी दिए ।


प्रतिक्रिया