संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं: राजेन्द्र लिङ्देन

संघ र स्थानीय सरकार बलियाे पाराैं, प्रदेश खारेज गराैं: राजेन्द्र लिङ्देन


ग्लोब नेपाल
513
Shares

महोत्तरी ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूमा पारेकाे आरोप लगाएका छन् । ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठिभरका केही नेताले देशको हालत दयनीय बनाएको उनकाे दाबी छ । 

शनिवार महोत्तरीको बर्दिबासमा आयाेजित आमसभालाई सम्बाेधन गर्दै नेता लिङ्देनले नेताहरूले नेपालको निर्णायकत्व विदेशीलाई सुम्पेको र विदेशीको चाहनाअनुसार सरकार चलेको समेत आरोप लगाए । वामपन्थी र कांग्रेस नेताका कारण नेपाल शक्तिराष्ट्रको क्रिडास्थल बनेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘हामीलाई विदेशीसँगको मित्रता स्वीकार्य छ । तर, हस्तक्षेप स्वीकार्य छैन ।´ राजालाई अर्बाै रुपैयाँ स्वीट्जरल्याण्डमा राखेको आरोप लगाउने नेताहरूले अहिले स्वीटजरल्याण्डमा ७० अरब रुपैयाँ राखेको अध्यक्ष लिङ्देनले खुलासा गरे ।

याे व्यवस्थाबाट देश भ्रष्टाचारको दलदलमा फसेको र यसकाे संरक्षणकर्ता पनि नेताहरू रहेकाे बताए । `सामान्य जागीर खानका लागि घुस खुवाउनुपर्छ, समाजले पनि घुस्याहलाई राम्राे मान्छ,´ उनले भने । उनले प्रदेशलाई खारेज गर्नुपर्ने बताए । संघ र स्थानीय सरकारलाई सशंक्त बनाए प्रदेशको जरुरत नै नपर्ने उनकाे सुझाब छ । वामपन्थी र कांग्रेसले गरेका गलत काम पर्दाफास हुने डरले नयाँ शक्तिलाई स्थापित हुन नदिएको अध्यक्ष लिङ्देनले दाबी गरे ।

देशलाई घात गर्न नेताहरूले केही बाँकी नराखेको बताउँदै अध्यक्ष लिङ्देनले भने, `यिनीहरूले स्वास्नी मान्छेलाई लोग्ने र लोग्ने मान्छेलाई स्वास्नी बनाउन सक्दैनन् । बाँकी जे पनि गर्छन र गरिसके ।´ नेपाली राजनीतिको तीन दशकलाई सम्झदै नेपाली जनताले सबै दललाई अवसर दिए पनि नेताहरूले पैसा कमाउने थलो मात्र बनाएको उनकाे टिप्पणी छ । शेरबहादुर देउवा ६ पटकसम्म प्रधानमन्त्री भएको उदाहरण दिँदै परिवर्तनको नाममा केही पनि नभएको अध्यक्ष लिङ्देनको भनाइ छ ।

३० वर्षमा इजरायल जस्ता देशले निकै ठूलो फड्को मारेको बताउदै उनले  कृषिमा दुई प्रतिशत भु-भाग भएका देशले निर्यात गर्छन । तर ८० प्रतिशत भू-भाग भएको हाम्रो देशले  आयात गर्छ यो भन्दा लाजमर्दो के पो हुन सक्छ र ?´