दोलखामा कुन्दनले पाउँलान् त अवसर ?

दोलखामा कुन्दनले पाउँलान् त अवसर ?


ग्लोब नेपाल
8.3k
Shares

काठमाडौं । २०६२/०६३ को १९ दिने जनआन्दोलनमा सबैभन्दा बढी सञ्चार माध्यममा गुञ्जने नाम थियो, गगन थापा, कुन्दन काफ्ले, प्रदीप पौडेल र रामकुमारी झाक्री । तत्कालिन समयमा गगन, प्रदीप र कुन्दनहरु कांग्रेस निकट नेपाल विद्यार्थी संघ र रामकुमारी झाक्री एमाले निकट अखिलबाट विद्यार्थीहरुको नेतृत्व गर्दै लोकतन्त्रको राँको बालेर सडक आन्दोलन छेड्थे ।

तत्कालिन राजा ज्ञानेन्द्र शाह नेतृत्वको शाही सरकारले जनआन्दोलन ताका सबैभन्दा बढि पक्राउ गरेका नामहरु गुगलमा खोजियो भने अहिले पनि यी नै नामहरु सजिलै भेट्न सकिन्छ । १९ दिने जनआन्दोलनबाट जन्मिएका तिनै विद्यार्थी नेताहरु गगन र रामकुमारी पटकपटक सांसद र एक–एक पटक मन्त्री बनिसकेका छन् । प्रदीप र कुन्दन भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

यी नेताहरुमध्ये हक्की स्वभावका प्रभावशाली नेता काफ्ले जनआन्दोलनमा धेरै यातना भोगेका नेता हुन् । तत्कालिन शाही सरकारले ०६२ माघ १९ गते कुन्दनलाई पक्राउ गरेर हेलिकोप्टरबाट नुवाकोटको ककनी पुर्याएको घटना उनी अहिले पनि सम्झन्छन् ।

त्यतिबेला उनी खतरामा परेको थाहा पाउनासाथ तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रातारात काफ्लेलाई बोर्डर कटाइदिएका थिए । आन्दोलन छेड्न निरन्तर सडकमा हुँदा खतरा भएपछि काफ्ले कोइरालाको सल्लाह बमोजिम नै प्रवासीन बाध्य भए । जनआन्दोलनमा लागेका उनको शरिरका कतिपय घाउका डोबहरु अहिले पनि निको भइसकेका छैनन् ।

जिल्लाका अग्रज नेता जिपछिरिङ लामा यसपटक निर्वाचनमा भाग नलिने भएपछि कुन्दनको राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । भूगोलमा नेताहरुबीच बेमेल जस्तो देखिए पनि पछिल्लो समय सांसद लामा सहित जिल्ला सभापति बर्मा लामा पनि कुन्दनलाई निर्वाचन लडाउनपर्ने मनस्थितिमा पुगेका छन् । संघमा काफ्ले, एक प्रदेशमा सभापति आफै निर्वाचनमा भाग लिने र एउटा प्रदेश माओवादीको भागमा दिने मनस्थितिमा सभापति लामा रहेको उनी निकट नेताहरु बताउँछन् ।

यसो हुँदा पार्टीप्रति आकर्षण बढ्नुका साथै निर्वाचन जित्न समेत सहज हुने जिल्ला स्तरका नेताहरुको समेत आंकलन छ । पूर्व सभापतिहरु ताराबहादुर कोइराला र रुद्रबहादुर खड्का निकटका नेताहरु पनि कुन्दनको विकल्प छैन भन्नेमा एक मत देखिन्छन् ।

पूर्व महामन्त्री कृष्ण सिटौला निकट रहेका कुन्दनले पछिल्लो समय सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासंग पनि राम्रो सम्बन्ध विस्तार गरेका छन् । देउवासंगको नजिकको उठबसमा सांसद लामा र कुन्दन बाहेक अन्य नेताहरु बाह्य हाइहेल्लोमा मात्र सिमित छन् ।

दोलखाको इतिहासमा पार्टी सभापतिले नै नियमित रुपमा टिकट लिएर चुनाव लड्ने प्रचलन छ । तर, जिल्ला सभापति लामा आधिकारीक रुपमा कुन समूहको नेता भन्ने नै यकिन छैन । शेखर कोइराला समूहबाट जिल्ला सभापति बनेका लामा महाधिवेशनमा कोइरालालाई नै मत नदिएको भन्दै विवादमा परे । यतिमात्र होइन महाधिवेशनमा जिल्ला सभापतिको रुपमा प्रभावकारी भूमिका खेल्न नसकेका उनलाई सभापति देउवापक्षको पनि अविश्वासका कारण यता न उता भएका छन् । तथापी, हल्लैहल्लाले लामा दुवै समूहको लिष्टबाट आउट भएपछि काफ्ले नै टिकटको बलियो दावेदारी रहेको कोइराला निकटका एक नेताले जानकारी दिए । संघको निर्वाचनमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि आकांक्षा देखाएका छन् ।

राजनीतिक पृष्ठभूमि
पशुपति क्याम्पस स्ववियू सदस्य–२०५५
पशुपति क्याम्पस स्ववियू सचिव–२०५७
पशुपति क्याम्पस स्ववियू सभापति–२०६०
नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य–२०६१
नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य कोषाध्यक्ष–२०६४
नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्री–२०७३
१२ औं महाधिवेशनमा प्रतिनिधि
१३ औं महाधिवेशनमा जिल्ला सभापतिको आकांक्षी
१४ औं महाधिवेशनमा केन्द्रीय सदस्य