कांग्रेसमा समान हक र न्यायका लागि कोइराला पक्षद्वारा आन्दोलनको घोषणा

कांग्रेसमा समान हक र न्यायका लागि कोइराला पक्षद्वारा आन्दोलनको घोषणा


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । नेपाली कांग्रेसको विद्रोही पक्षले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची सच्याउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।

सोमबार ठमेलस्थित एक होटेलमा बसेको कोइराला समूहका दोस्रो तहका नेताहरूको भेलाले आन्दोलनको घोषणा गरेका हुन् । सभापति शेरबहादुर देउवाले पार्टीभित्र शक्ति सन्तुलन नमिलाई एकलौटी रूपमा समानुपातिक उम्मेदवारको बन्द सूची तयार गरी बुझाएको भन्दै शेखर कोइराला पक्षले आन्दोलनको घोषणा गरेको हो ।

बन्दसूचीमा उम्मेदवारको नाम राख्दा नेतृत्वले गरेको मनोमानी सच्याउन भन्दै बुधबार पार्टी केन्द्रीय कार्यालयमा एकघन्टा धर्ना दिने निर्ण गरिएको उक्त समूहको दोस्रो तहका नेता मनोजमणि आचार्यले जानकारी दिएका हुन् ।उनले पार्टीभित्र समान न्याय र अवसर प्राप्तिका लागि पार्टी सभापतिलाई दबाब दिने उद्देश्यले बुधबार एकघन्टा धर्ना दिन लागिएको बताए ।

पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा आफ्नो समूहका नेता तथा कार्यकर्ताहरुलाई उपेक्षा गरिएको भन्दै उक्त सूची सच्याउनसमेत शेखर समूहले माग गर्दै आएको छ । त्यस्तै प्रत्यक्षतर्फ समेत पार्टीभित्र आफ्नो समूहले ४० प्रतिशत टिकट पाउनुपर्नेमा जोड दिँदै आएको छ ।

नेता भुपेन्द्रजंग शाहीले पार्टीले समान अवसरको वितरण नहुने अवस्था भए विद्रोहको विकल्प छैन भने भेलाको निष्कर्ष रहेको बताए । कोइराला समूहले पार्टीको टिकट वितरणमा ४० प्रतिशत सिट दाबी गरिरहेका बेला संस्थापन पक्षले करिब १० प्रतिशतमात्रै सिट दिएपछि कोइराला समूहका नेता थप आक्रोसित भएका हुन् ।