काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्ने तयारीमा रहेका युवा सागर ढकालले आफू मतदाताहरूको मायाले उत्साहित भएको बताएका छन् ।
डडेलधुराबाट निर्वाचन लड्ने तयारी गरिरहेका ढकालले आफूलाई धेरै मतदाताले माया र सद्भाव दिएको बताएका हुन् । पहिलो चरणको प्रचारप्रसारको काम सकेपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डडेलधुराको ७ वटै पालिका र ५२ वटा वडाहरूमध्ये छिटफुटबाहेक सबैको आवाज सुनेर सकेका छौँ । सोचेभन्दा निकै राम्रो माया, सद्भाव पाएका छौँ । जहाँ रात पर्छ त्यहीँ बस्छौँ । बेजोड पानी, ब्यापक जुकाको टोकाई, पहिरोलगायतका अवरोधहरुकाबीच समयमै काम सक्यौँ । अब एजेन्डासहित हाम्रो आवाज सुनाउने पालो ।’
डडेलधुराको ७ वटै पालिका र ५२ वटा वडाहरु मध्ये छिटफुट बाहेक सबैको आवाज सुनेर सकेका छौँ। सोचे भन्दा निकै राम्रो माया सद्भाव पाएका छौँ।जहाँ रात पर्छ त्यहिँ बस्छौँ। बेजोड पानी, ब्यापक जुकाको टोकाई, पहिरो लगायतका अवरोधहरुकाबीच समयमै काम सक्यौँ।अब एजेन्डा सहित हाम्रो आवाज सुनाउने पालो। pic.twitter.com/xsPGZQGVfh
— Sagar Dhakal (@watersagar) September 26, 2022
पेशाले मेकानिकल इन्जिनियरसमेत रहेका गुल्मीका ढकालले केही वर्ष अघि एक सार्वजनिक कार्यक्रममा प्रश्न सोध्दा देउवाले ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै हकारेका थिए । ढकालले देउवालाई विकसित देशका नेताहरू उत्कृष्ट युनभर्सिटीका विद्यार्थी हुने गरेको र उनीहरूले मुलुकको विकास गरेको तर नेपालका नेताहरूले मुलुकको विकास गर्न नसकेको भन्दै कहिले राजनीतिबाट विश्राम लिने भनेर प्रश्न गरेका थिए । जवाफमा देउवाले ‘कहाँबाट नेपालमा ल्याउने अक्फोर्ड’ भन्दै जंगिएका थिए ।
त्यसपछि पुनः प्रतिप्रश्न गर्न तम्सिएका ढकाललाई देउवाले ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भनेर हकारेका थिए । उनै ढकाल आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभामा देउवासँगै प्रतिष्पर्धा गर्न तम्सिएका हुन् ।

प्रतिक्रिया