काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका नेता डा. शेखर कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको बताएका छन् ।
मंगलवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता डा.महतले अनुशासनबाहिरका गतिविधिहरूलाई पार्टीले नजिकबाट नियाली रहेको र कारबाहीको दायरमा पर्ने बताए ।कोइराला समूहले गरिरहेको गतिविधि उपयुक्त नभएको भन्दै प्रवक्ता महतले देशभरिका कांग्रेस कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे।
कोइराला समूहका नेताहरुले गरिरहेको विरोधतर्फ संकेत गर्दै उनले यो उपयुक्त नभएको बताए । उनले भने, ‘यो पार्टी अनुशासनको कुरा होइन ।’ उनले कांग्रेसले समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत रुपमा तयार भएको पनि दावि गरे । कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची नबनेको भन्दै उनले अहिले भइरहेको विरोध अनावश्यक र पार्टीको हितमा नरहेको बताए ।
प्रवक्ता महतले समानुपातिक उम्मेदवार सर्वसम्मत चयन भएको भन्दै एकलौटी रुपमा उम्मेदवार छनोट भएको भन्ने कुरामा सत्यता नभएको बताएका हुन् । ‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ । त्यहाँ कतिपय त्रुटिहरु छन्’, उनले भने,‘तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन । यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन ।’
प्रतिक्रिया