काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने भएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिँदै आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताए । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ ।
आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ । निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ ।
आचार संहिताको परिच्छेद ३ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण उल्लेख छ । जसमा सरकार, मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीहरुले कुनै राजनीतिक दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । तर निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्री आफु उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न पाउने भएपनि प्रचार प्रसारमा जाँदा सरकारी स्रोत साधनको प्रयोग गर्न पाउने छैनन् । त्यस्तै बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत बाहेक अन्य कार्यक्रम गर्न वा नीति, योजना वा कार्यक्रमको घोषणा, स्वीकृत र सञ्चालन गर्न पाउने छैनन् ।
बुधवारबाट लागू हुने आचारसंहिता यस्तो छ:
प्रतिक्रिया