राजेन्द्र महतो सर्लाही-२ ‘ब्याक’, धनुषा-३ छाडे

राजेन्द्र महतो सर्लाही-२ ‘ब्याक’, धनुषा-३ छाडे


ग्लोब नेपाल
864
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने दावी छाडेका छन् ।

नेकपा एमालेले धनुषा छाड्न नमानेपछि लोसपा वरिष्ठ नेता महतो सर्लाही फर्किने भएका हुन् । यसअघि २०७४ मा यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महतो ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–२ बाट लड्ने निष्कर्षमा पुगेका छन्।

२०७४ सालमा मधेसी मोर्चाको उम्मेदवार रहेका महतोले एमालेको पनि अघोषित साथ पाएका थिए । त्यसको बलमा उनले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यो पटक निधि समानुपातिक पद्धतितर्फ उम्मेदवार बनेका छन् । ‘लोसपा र एमालेबीच गठबन्धन भइरहेको छ । त्यहाँबाट जुलीजी तयारी गर्दै हुनुहुन्छ,’ लोसपा नेता महतोले भने । उनले पछिल्लो समय पटक-पटक सर्लाही २ मा पुगेका थिए ।

यसअघि सर्लाही-२ मा तत्कालीन राजपाबाट महेन्द्र राय यादवले चुनाव जितेका थिए । यादव अहिले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा छन् । आगामी चुनावमा उनी पाँचदलीय गठबन्धनबाट त्यहाँ चुनाव लड्ने सम्भावना छ । यसपटक यादव र महोत्वबीच टक्कर हुने देखिएको छ । नेता महतो लोसपा–एमाले गठबन्धनबाट चुनाव लड्ने सम्भावना देखिएको छ । एमालेसँग गठबन्धन गर्नका लागि लोसपाले तीन दिनदेखि वार्ता गरिरहेको छ । दुई दल बीचमा आज पनि वार्ता हुँदैछ ।

सर्लाही नेता महतोको गृहजिल्ला हो । गत चुनावमा उनी सर्लाही छाडेर धनुषाबाट चुनाव लडेका थिए । यसपटक उनी गृहजिल्ला फर्केका हुन् ।