काठमाडौं १ बाट चुनाव लड्ने रवीन्द्र मिश्रको घोषणा

काठमाडौं १ बाट चुनाव लड्ने रवीन्द्र मिश्रको घोषणा


ग्लोब नेपाल
378
Shares

काठमाडौं । केहि दिनअघि मात्रै राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं १ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका छन् ।

राप्रपाका बरिष्ठ उपाध्यक्ष रहेका मिश्रले शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उम्मेदवारी घोषणा गरेका हुन्। उनी २०७४ सालको चुनावमा पनि तत्कालीन साझा पार्टीबाट उम्मेदवार बनेका थिए। उक्त चुनावमा उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग थोरै मतान्तरले पराजित भएका थिए।

मिश्रको उम्मेदवारी घोषणा सभामा राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत नेता कार्यकर्ता उपस्थित थिए। २०७४ को चुनावमा सिंहले १० हजार ९ सय ३७ मत पाएका थिए भने मिश्र १० हजार १ सय १८ मत पाएर पराजित भएका थिए।

उम्मेदवारी घोषणा गर्दै मिश्रले काठमाडौं १ बाट चुनाव जित्दै आएका कांग्रेस नेता प्रकाशमानले १५ वर्षसम्म केही काम नगरेको आरोप लगाए । ‘संसद् भवन काठमाडौं १ मा पर्छ । एकजना व्यक्ति १५ वर्षदेखि यहाँबाट सांसद बन्नुभएको छ । उहाँलाई सोध्नुस् १५ वर्षमा कति दिन संसद् चल्यो ? कति दिन उपस्थित हुनुभयो । १५ वर्षमा के गर्नुभयो ?’, उनले प्रश्न गरे ।

बस्न योग्य नभएको काठमाडौंलाई व्यवस्थित बनाउने आफ्नो योजना रहेको मिश्रले बताए ।