माओवादीले रुकुमपश्चिमका तीनै सीट नछाड्ने, नत्र अनपेक्षित परिणाम हुने चेतावनी

माओवादीले रुकुमपश्चिमका तीनै सीट नछाड्ने, नत्र अनपेक्षित परिणाम हुने चेतावनी


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले २०७४ मा आफूले जितेका संघ र प्रदेश दुवैतर्फ गठबन्धनका अन्य दललाई दिन नसकिने बताएको छ ।

माओवादी रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोका (सचिन) ले शुक्रवार विज्ञप्ति जारी गर्दै गठबन्धनको सीट बाँडफाँट मापदण्ड विपरित यसअघि जितेका क्षेत्र अन्य दललाई दिन नसकिने अडान राखेका हुन्।

‘प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँडको लागि गठबन्धन दलहरुले यसअघि जितेका क्षेत्रहरु यथावत राखी अन्य क्षेत्रमा मात्र भागबण्डा मिलाउने भनी यसअघि निर्धारण गरिएको मापदण्ड अनुसार नै सिट बाँडफाँट सम्बन्धी निर्णय गर्न नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिम जोडदार माग गर्दछु’, रोकाले भनेका छन्, ‘अन्यथा भएमा रुकुम पश्चिममा त्यसको परिणाम अनपेक्षित हुनसक्नेतर्फ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ।’

रुकुम पश्चिमको प्रतिनिधि सभा र दुवै प्रदेशसभामा यसअघि वाम गठबन्धन हुँदा पनि माओवादीले नै पाएको थियो र तीनै सीट जितेको थियो । गठबन्धनले प्रदेशतर्फको २ मध्ये एउटा सिट कांग्रेसलाई दिने रणनीति बनाएपछि माओवादी जिल्ला नेतृत्वले विद्रोहको चेतावनी दिएको हो।

गठबन्धन दलबीच पनि यसअघि जसले जितेको हो त्यो क्षेत्र सम्बन्धित दलले राखेर अन्य क्षेत्रमात्रै बाँड्ने सहमति भएको हो। त्यही सहमतिअनुसार निर्णय नभए निर्वाचन परिणाम नै अनपेक्षित हुन सक्ने चेतावनी माओवादी रुकुम पश्चिमले दिएको हो।