अनुगमनकालागि निर्वाचन आयोगमा प्रेस कार्यालय स्थापना

अनुगमनकालागि निर्वाचन आयोगमा प्रेस कार्यालय स्थापना


ग्लोब नेपाल
270
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्ष्य गरी आफ्नै कार्यालयमा प्रेस अफिस स्थापना गरी आजदेखि सञ्चालनमा ल्याएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज सो कार्यालयको शुभारम्भ गर्दै आयोगका गतिविधि तथा सूचनालाई तत्काल र सहीरुपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताएका छन् ।

उनले सञ्चार माध्यमलाइ स्वनियमन र स्वनियन्त्रणको मान्यतालाई ध्यान दिएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्षरुपमा सम्पन्न गर्न सघाउन आग्रह गरे ।

प्रेस काउन्सिल नेपालले सञ्चार माध्यम माथि पूर्ववत रुपमा गर्दै आएको सञ्चार माध्यमको अनुगमन यथावत् गर्नेमा आयोग स्पष्ट रहेको बताउदै सामाजिक सञ्जालबाट हुन सक्ने दुष्प्रचार, भ्रामक सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न तथा निर्वाचनका समयमा साइबर सुरक्षाको चुनौती कम गर्न सम्बन्धित निकायले गरी आएको कामलाई निर्वाचनका समयमा प्रभावकारी बनाउन प्रेस अफिसमा प्रतिनिधि राखिएको बताए ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन आफ्ना सूचना तथा सन्देश आम मतदाता, उम्मेदवार, राजनीतिक दल लगायतका सरोकारवाला समक्ष प्रभावकारी तवरले सम्प्रेषण र सञ्चार माध्यमसँग उचित सहकार्य गर्न र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको उपयोग गरी आयोगका गतिविधि अझ प्रभावकारी रुपमा सम्प्रेषण गर्न एवं तिनको अनुगमन व्यवस्थित गर्न यो कार्यालय खडा गरेको जनाएको छ । आयोगले २०७९ भदौ १९ गते स्वीकृत गरेको प्रेस अफिस स्थापना तथा सञ्चालन सम्बन्धी अवधारणा पत्रबमोजिम यो संयन्त्र स्थापना भएको हो ।