आज नवरात्रको छैठौंँ दिन, कात्यायनी देवीको पूजा गरिँदै

आज नवरात्रको छैठौंँ दिन, कात्यायनी देवीको पूजा गरिँदै


ग्लोब नेपाल
81
Shares

काठमाडौं । बडादसैँ अन्तर्गत नवरात्रको आज छैठौं दिन, दुर्गा भवानीका नौ रुपमध्य छैठौंं रुप कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदैछ ।

बडादसैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक–फरक रूपहरूको पूजा गर्ने परम्परा छ । कात्यायनी देवीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास रहेको छ ।

यज्ञ रक्षा र देवताहरूको कार्य सिद्धिका लागि महर्षि कात्यायनको आफ्नो आश्रममा प्रकट भएकी कन्यालाई छोरी बनाएकाले ती देवीको नाम कात्यायनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिएको छ । त्यसकारण महर्षि कात्यायनको छोरीका रुपमा कात्यायनी माताले जन्म लिएको विश्वास गरिन्छ ।

आश्विन कृष्ण चतुर्दशीमा जन्म लिएर उहाँले विजया दशमीका दिन महिषासुर नामक दैत्यको वध गर्नुभएको थियो । शिरमा अर्धचन्द्र धारण गरेर, नाना प्रकारका आभूषणबाट सुशोभित, चार हातमा पद्म, पुष्प तथा तरबार धारण गरेको स्वरूपमा कात्यायनी देवीलाई लिइन्छ । आज बिहानैदेखि काठमाडौं उपत्यकाका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा उनै देवीको आराधनाका लागि भक्तजनहरूको घुँइचो लागेको छ । त्यसैगरी नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरूमा दर्शनार्थीको भीड लाग्ने गर्छ ।