असोज २० गते नेपाल फर्किन्छु: सन्दीप लामिछाने

असोज २० गते नेपाल फर्किन्छु: सन्दीप लामिछाने


ग्लोब नेपाल
486
Shares

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० (अक्टोबर ६) मा नेपाल आइपुग्ने बताएका छन्।

शनिबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले आफूविरुद्ध लगाइएको गलत आरोपको कानुनी सामना गर्न अक्टोबर ६ मा नेपाल फर्किने बताएका हुन् । न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गर्दै उनले आफू निर्दोष सावित हुने स्ट्याटसमा दाबी गरेका छन् । आफू अश्वाभाविक अवस्थाबाट गुज्रिएको भएपनि अहिले निको भएको बताएका छन् । ‘बलियो आशा र शक्तिका साथ म अक्टोबर ६ मा गृह देश नेपाल आइपुग्दै छु’, उनले भनेका छन्, ‘नेपाल आएर झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्नेछु ।’

उनले समयक्रममा आफूविरुद्ध लगाइएका गलत आरोपहरु पर्दाफास हुने बताएका छन् । यसअघि पनि लामिछानेले सामाजिक सञ्जालमार्फत् आफू निर्दोष रहेको र केही दिनमै नेपाल फर्किने बताएका थिए ।

एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

उनी नाबालिग बलात्कार आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका थिए ।