सीट बाँडफाँटमा जसपा असन्तुष्ट, पाँचदलीय गठबन्धनबाट बाहिरिने संकेत !

सीट बाँडफाँटमा जसपा असन्तुष्ट, पाँचदलीय गठबन्धनबाट बाहिरिने संकेत !


ग्लोब नेपाल
81
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सत्ता गठबन्धनमा भइरहेको सीट बाँडफाँडमा असन्तुष्टि जनाएको छ ।

शनिबार (आज) बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले आसन्न प्रतिनिभि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भइरहेको सीट बाँडफाँड सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै जसपाका प्रवक्ता मनिष सुमनले गठबन्धनमा सीट बाँडफाँड पार्टीका लागि सन्तोषजनक नरहेको बताएका छन् । गठबन्धनभित्र सिट बाँडफाँटसम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको ‘प्रेस नोट’मा उल्लेख छ ।

सम्भव भएसम्म विकल्पका रूपमा अरू दलहरूसित पनि तालमेल गर्न सकिने बैठकबाट निष्कर्ष निकालिएको छ । सो पनि हुन नसकेको अवस्थामा जसपाले आसन्न निर्वाचनमा एक्लै भाग लिने निर्णय गरिएको जनाइएको छ ।

प्रवक्ता सुमनले जारी गरेको प्रेस नोटमा उल्लेख छ, ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको पाँचदलीय गठबन्धनमा आगामी हुने संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भइरहेको सिट बाँडफाँटसम्बन्घी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिनेछ । सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’