माओवादीको समानुपातिक बन्दसूचीबाट महराको नाम हटाइयो

माओवादीको समानुपातिक बन्दसूचीबाट महराको नाम हटाइयो


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ ।

यसअघि उनलाई माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको पहिलो नम्बरमा राखेर बन्द सूची निर्वाचन आयोगमा पेश गरेको थियो । महराको नाम समानुपातिक उम्मेदवारको सूचीबाट हटाइएको माओवादी केन्द्रका कोषाध्यक्ष एवं कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । महरा प्रत्यक्ष चुनाव नलड्ने भएका छन् ।

२०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएको थियो ।महराकै इच्छामा नाम हटाइएको हो । माओवादीले महराको नाम पहिलो नम्बरमा राखेको थियो । उनको नाम हटेपछि हितराज पाण्डेको नाम पहिलो नम्बरमा राखेर माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ ।

गोरखाका पाण्डे माओवादी केन्द्रका सचिव छन् । पाण्डे यसअघि २०७४ को चुनावपछि पनि माओवादी केन्द्रमा समानुपातिक तर्फका सांसद बनेका थिए । त्यसबेला माओवादी केन्द्रबाट एक मात्रै पुरूष समानुपातिक सांसद बन्दा पाण्डेले अवसर पाएका थिए ।