समानुपातिक बन्दसूचीमा रहेका २९ जनाले नाम फिर्ताका लागि दिए आयोगमा निवेदन

समानुपातिक बन्दसूचीमा रहेका २९ जनाले नाम फिर्ताका लागि दिए आयोगमा निवेदन


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । विभिन्न राजनीतिक दलका २९ जनाले समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका छन्।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृतमध्ये २९ जना उम्मेदवारले उम्मेदवारी फिर्ताको लागि आयोगमा निवेदन दिएका हुन् । उनीहरुले दिएको निवेदनपछि निर्वाचन आयोगले सम्बन्धित दलहरुलाई पनि यसको जानकारी गराएको छ।

निर्वाचन आयोगको समानुपातिक निर्वाचन कार्यालय तर्फका प्रवक्ता गुरु वाग्लेले प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन्।

उनीहरुले आयोगमै आएर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएको उनले जानकारी दिए। यसरी निवेदन दिनेमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट ४, जनता समाजवादी पार्टीका ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना रहेका छन्।

यस्तै प्रदेश १ का ६ जना, मधेश प्रदेशका २, बागमती प्रदेशका १०, गण्डकी र लुम्बिनीका १/१ जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको उनले बताए।

आयोगले कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार १२ बजेसम्मको समय तोकेको थियो।