प्रचण्डलाई चितवनबाटै उम्मेदवारी दिन पाँच दलको अपिल

प्रचण्डलाई चितवनबाटै उम्मेदवारी दिन पाँच दलको अपिल


ग्लोब नेपाल
756
Shares

काठमाडौं । सत्ता गठबन्धन आबद्ध चितवनका पाँच राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आसन्न निर्वाचनमा चितवनबाटै उम्मेदवारी दिन अपिल गरेका छन्।

गठबन्धनको मंगलबार बसेको जिल्ला स्तरीय बैठकको निर्णयमा प्रचण्ड चितवनको निर्वाचन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्न लागेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। ‘मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिरसमेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै मंसिर ४ गते सम्पन्न हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनु हुन अपिल गर्ने निर्णय गरिन्छ,’ बैठकको निर्णयमा उल्लेख छ।

मंगलबार नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई चितवनबाटै उम्मेदवारी दर्ता गर्न अपिल गरेको हो। बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका कृष्णराज न्यौपाने ‘लब्ली’, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल र जसपाका प्रेमराज भुजेल सहभागी थिए।

बैठकमा सहभागी नेपाली कांग्रेसका जिल्ला सचिव ध्रुव पोखरेलले चितवनको क्षेत्र नम्बर ३ माओवादी केन्द्रले नै पाउने हो भने प्रचण्ड नै उपयुक्त उम्मेदवार हुन् भन्ने कांग्रेसको बुझाइ रहेको बताए। पोखरेलले उक्त पार्टीबाट अन्य व्यक्ति उम्मेदवार हुनुभन्दा प्रचण्ड हुँदा नै निर्वाचन जित्न सहज हुने र जिल्लालाई पनि तुलनात्मक रूपमा फाइदा हुने बुझाइ सबै दलको रहेको बताए।